Sat. Jul 5th, 2025

धादिङको विशालटारमा बिक्रि नभएपछि ट्याक्टरले जोतेर तरकारी नष्ट


६ फागुन, धादिङ –

बजारमूल्य भन्दा पन्ध्र गुणा कममा पनि तरकारी बिक्रि नभएपछि जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसानहरुले तरकारी बारीमा नै ट्याक्टरले जोतेर नष्ट गरेका छन् । खेतमा लगाएको बन्दाकोभी, मुला लगायतको तरकारीको मूल्य नपाएको स्थानीय किसान राजु बिसुरालले बताए । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँमा किनिरहेको मुला र ३० रुपैयाँ प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया ब्यापारीले प्रतिकेजी तीन रुपैयामा पनि नलगेपछि किसानहरुले खेतमै थुप्रो लगाएका छन् ।

बिसुरालले बन्दा, मुला लगायतको तरकारी खेती गरेका छन् । उनले फलाएको बन्दा एक किलो पनि बिक्री गरेको छैन । बन्दा बिक्री नभएपछि खेतमै कुहिएको छ । ‘लागत मूल्य ५० हजार खर्च भइसकेको छ, बिक्रि गर्दा प्रति किलो ३ रुपैया पनि नआउने देखियो’, बिसुरालले भने, ‘सिजनमा तरकारी लगायो, आम्दानी भन्दा खर्च बढी भइसकेको छ ।’ विगत १५ वर्षदेखि कृषि पेशामा संलग्न बिसुराल तरकारी खेतीबाट बिस्तारै हात धुनु पर्ने अवस्था आएको बताए ।

अर्का किसान सुमित्रा शाहले पनि ३ रोपनी जग्गामा लगाएको मुला भाउ नपाएपछि काटेर फालेका छन् । स्थानीय बजारमा बन्दाको माग नहुँदा व्यापारीहरुले लिन नमानेको किसान बताउंँछन् । केही किसान अझ मूल्य पाउने आशमा बसिरहेका छन् । बजारमा तरकारीको मूल्य नपाएपछि ट्याक्टर लगाएर जोतेको शाहले बताइन् ।

अहिले बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म छ  । तर, व्यापारीहरूलाई सित्तैमा तरकारी उठाउन भन्दा पनि नमानेको शाहले बताइन् । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन । मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनु परेको छ । तीनवर्ष अघिसम्म तरकारी खेती गरेर लाखौ कमाउने किसानहरु अहिले घाटा व्यहोर्नु परेकोमा चिन्तित छन् ।

विशालटारका अधिकांश किसानहरुले तरकारी खेती गरेका छन् । त्यहाँ रहेका १२ घरधुरीले एकै पटक ट्याक्टर लगाएर तरकारी खेती नष्ट गरेका छन् । यहाँका स्थानीयहरुले २२ रोपनी क्षेत्रफलमा बन्दाकोभीको मात्र खेती गरेका छन् । बन्दासँगै मुला पनि बिक्रि भएको छैन । बिक्रि नभएको तरकारी काट्न समेत ज्याला दिनु परेको स्थानीय किसान निर्मला बिसुरालले बताइन् । यहाँका प्रत्येक किसानले ५० देखि ६० हजार रुपैया नोक्सानी व्यहोर्नु परेको छ । अब बर्खे तरकारी लगाउनका लागि किसानहरुले तयारी गरिरहेका छन् ।

२०७५ फागुन ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: