Sat. Jul 27th, 2024

कता हरायो अमेरिकी हेलिकप्टर ?

8c1e45cd5de9740f5fac19657df0b46e_L

काठमाडौं– मंगलबारको शक्तिशाली भूकम्पमा परी घाइतेको उद्धार गर्न अपराह्न दोलखा पुगेको अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता छ ।हेलिकप्टरबारे सरकारी निकायबाटै फरकफरक जानकारी प्रवाह भएपछि यो घटना झन् रहस्यमय बनेको छ । हेलिकप्टर हराएको वा कतै ल्यान्ड गरेर बसेको भन्ने अझै खुल्न सकेको छैन।

मंगलबार दिउँसो १:५० मा त्रिभुवन विमानस्थलबाट उडेको उक्त हेलिकप्टर दोलखा, सुनखानी पुगेपछि सम्पर्कविहीन भएको थियो । हराइरहेको हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको दोलखास्थित निर्माणाधीन सिँगटी सबस्टेसनमा ल्यान्ड गरेको र त्यसमा सवार सबै ८ जना सकुशल रहेको बुधबार साँझ विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले विभागीय मन्त्रीलाई औपचारिक जानकारी गराएका थिए ।

भाटले नागरिकसँग कुरा गर्दै एउटा हेलिकप्टर सिँगटी सबस्टेसनको निर्माणाधीन स्थानमा रहेको र त्यसमा रहेका सबै सकुशल रहेको जानकारी दिएका थिए । भाटले त्यहाँ कार्यरत कर्मचारीलाई उद्धृत गर्दै दिएको सूचनालाई नेपाली सेनाले तुरुन्तै विज्ञप्तिमार्फत खण्डन गरेको थियो । सेनाले बेपत्ता हेलिकप्टर नभेटिएको र खोजी कार्य जारी रहेको बताउँदै विज्ञप्ति निकालेपछि घटनाले नयाँ मोड लियो । सेनाद्वारा बुधबार बेलुका जारी विज्ञप्तिमा दोलखाको सुनखानीनजिक अमेरिकी मरिन हेलिकोप्टर युएच वान वाई हराएको र खोजीका लागि सेनाले लिपिलाङ, लामिडाँडा, सुनखानी र जुभुबाट पैदलै खोजी गर्दा बुधबार बेलुकासम्म अवस्था अज्ञात रहेको उल्लेख छ ।हराइरहेको हेलिकप्टर खोज्न सेनाले आफ्नो जनशक्ति परिचालन गरे पनि उक्त क्षेत्रमा रहेका अन्य सुरक्षा निकायलाई कुनै जानकारी दिएको छैन । उसले हेलिकप्टर र त्यसमा सवार २ नेपाली सेना तथा ६ अमेरिकी सेनाको अवस्थासमेत अज्ञात रहेको विज्ञप्तिमार्फत दाबी गर्‍यो ।
सेनाले हराइरहेको अमेरिकी हेलिकप्टर फेला नपरेको दाबी गरे पनि अर्थमन्त्री रामशरण महतले ट्विट गर्दै हेलिकप्टर फेला परेको सूचना प्रवाह गरेका थिए ।

दुई थरी सूचनाबारे सम्बन्धित प्राविधिकसँग नागरिकले सम्पर्क गर्दा पनि विरोधाभाषपूर्ण तथ्य आए । उड्डयन प्राधिकरणका एक प्राविधिकले हेलिकप्टर र त्यसमा सवार सबै जना सकुशल रहेको जानकारी दिए । ती प्राविधिकले हेलिकप्टर रहेको स्थानबारे भने जानकारी लिन नसकिएको बताए ।  दोलखा क्षेत्र नम्बर २ का सभासद आनन्दप्रसाद पोखरेलले बुधबार अपराह्न ४ बजे हेलिकप्टरबारे जानकारी आएको बताउँदै त्यसमा सवार सबै सकुशल रहेको नागरिकलाई बताए । ऊर्जामन्त्री राधा ज्ञवालीले पनि आफ्ना स्वकीय सचिव राजेन्द्र ढकालमार्फत हेलिकप्टर र त्यसमा रहेकाहरु सकुशल रहेको थाहा पाएको बताइन् ।‘स्वकीय सचिवमार्फत जानकारी आएको हो,’ उनले नागरिकसँग भनिन्, ‘आधिकारिक जानकारी छैन ।’स्वकीय सचिव ढकालसँग सम्पर्क गर्दा उनले प्राधिकरणका कर्मचारीमार्फत आफूलाई हेलिकप्टरबारे जानकारी आएको बताए । ढकालका अनुसार सबस्टेसनमा हेलिकप्टर बसेपछि त्यहाँका एक कर्मचारी हिँडेरै बुधबार लामोसाँघु आएर सुनकोसी जलविद्युत आयोजनाको कार्यालय आएर जानकारी दिएका थिए । ती कर्मचारीले त्यहाँका प्रमुख सुरज दाहाललाई भेटेर हेलिकप्टरबारे जानकारी गराएका थिए ।

ती कर्मचारीले एउटा हेलिकप्टर मंगलबार बेलुकादेखि सबस्टेसनमा बसेको र आफू बिहान ५ बजे हिँड्दा पनि त्यहीँ रहेको बताएका थिए । ती कर्मचारीको जानकारीका आधारमा दाहालले यस्तो जानकारी भाटलाई दिएका थिए । भाटले निर्माणाधीन संरचनामा हेलिकप्टर बसेको जानकारी दिन ऊर्जामन्त्री ज्ञवालीका स्वकीय सचिव ढकाललाई फोन गरेका थिए । ढकालले सोही जानकारी मन्त्रीलाई दिएपछि हेलिकप्टर फेला परेको सूचना सार्वजनिक भएको थियो । स्रोतका अनुसार ऊर्जा मन्त्रालयले त्यसको जानकारी तत्काल गृहलाई समेत गराएका थिए । सेनाले भने हेलिकप्टर फेला परेको स्विकारेको छैन । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले दोलखामा हराइरहेको अमेरिकी हेलिकप्टर फेला नपरेको बताए । ‘मंगलबार हवाई खोजी गर्‍यौं, बुधबार हवाई र पैदल दुवै किसिमले खोजी गर्‍यौं,’ पोखरेलले नागरिकसँग भने, ‘भेटिएको छैन, खोजी जारी छ ।’ नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: