Mon. Dec 4th, 2023

एपिएफ टोलीद्वारा दोलखामा छ जनाको जीवितै उद्धार

३१ वैशाख, काठमाडौँ–  दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट छ जनाको जीवितै उद्धार गरेको छ । यही वैशाख २९ गते दोलखामा गएको ६।८ रिक्टर स्केलको पराकम्पनमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ, दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भत्किएको सो घरमा मासु पसल, किराना पसल, चिया पसल, टिभी पसल, मोबाइल पसललगायतका पसल रहेका थिए । भूकम्पबाट उक्त घर भत्किएर पूर्णरुपमा क्षति हुँदा पुरिएका सबै छ जनालाई नै सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो ।

जीवित उद्धार गरिएकी सविता गुरुङ पूरै च्यापिएको अवस्थामा रहेकी थिइन् । उनको गोडा पूरै च्यापिएको थियो । उनको उद्धार गर्दा कपालसमेत काट्नुपरेको थियो । उनलाई सशस्त्र प्रहरी नायब निरीक्षक विष्णु दराईंको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । छ जनालाई नै हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको टोलीले हिजै दोलखा जिल्लाको सिङ्गटी बजारबाट अन्य पाँच जनालाई जीवितै उद्धार गरेको थियो ।

सोही बजारबाटै अन्य २८ जनालाई संयुक्त रुपमा मङ्गलबार बेलुका नै जीवितै उद्धार गरेको थियो ।टोलीले दोलखाको सिङ्गटी आसपास इलाकाहरु चिल्खा, लामीडाँडा, लादुक, सुनखानी, सुरी गाविसका विभिन्न ठाउँबाट १५ जनाको शवसमेत निकालेको थियो । यही वैशाख २९ गते आएको भूकम्पमा परी दोलखामा ६१ जनाको मृत्यु भएकाको सनाखत भइसकेको छ । रासस

 

About The Author

Loading...

अन्य समाचारहरु: