Sat. Jul 5th, 2025

धादिङमा पहिलो पटक व्यावसायीक चियाखेतीको सुरुवात

९ साउन, धादिङ –


धादिङ जिल्लामा पहिलो पटक व्यावसायीक चिया खेतीको सुरु गरिएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ९ निगालपानीका किसानहरुले चिया खेती गरेका हुन् । चिया खेतीका लागि उत्तम हावापानी मिल्ने भएपछि खाली जग्गामा चिया खेती गरिएको हो ।

चिया खेतीको अध्ययन अवलोकनका लागि वडा अध्यक्ष भोजबहादुर रेग्मीको नेतृत्वमा ५ युवाहरु आफ्नै खर्चमा इलाम पुगेर आएका थिए । अवलोकनपछि जिल्लाको नीलकण्ठ नगरपालिकाको उच्च क्षेत्रको रुपमा रहेका निगालपानी डाँडामा चिया खेती गर्नको लािग प्राविधिक अध्ययन र मुल्याङ्कन गरिएको थियो । अध्ययन पश्चात उपयुक्त देखिएकाले पहिलो चरणमा ३ सय रोपनी जग्गामा ब्यवसायिक रुपमा खेतीको सुरुवात गरिएको हो ।

पछिल्लो समय परम्परागत खेतीपाती गर्नेहरुका सङ्ख्या घट्दै गएकाले बाँझो रहेको जमिनको सदुपयोग गरि आयआर्जनमा बृद्धि गराउन चिया खेतीको सुरुवात गरिएको वडा अध्यक्ष रेग्मीले बताए । ‘अहिले खेतीपाती गर्नेहरुको संख्या क्रमश घट्दै गइरहेको छ, जमिनहरु पनि बाँझो हुन थालेको छ,’ उनले भने ‘प्राविधिक बोलाएर हावापानी तथा माटो परीक्षण लगायतका काम सकेपछि चियाखेतीको लागि हावापानी उपयुक्त देखिएकाले चियाखेतीको सुरुवात गरेका हौँ ।’

पहिलो चरणमा चिया खेती गर्न इच्छुक किसानहरुको लागि १२ हजार चियाको विरुवा निशुल्क वितरण गरिएको छ । चियाको विरुवा खरिद गर्नको लागि नीलकण्ठ नगरपालिकाले ३ लाख रुपैया सहयोग समेत गरेको थियो । अहिले चियाको विरुवा थोरै पाइएकाले गर्दा १२ हजार विरुवा मात्रै वितरण गरिएको र आगामी वर्षमा १ लाख विरुवा स्थानीयहरुको बारीको आवश्यकता अुनसार वितरण गरिने नगरपालिकाले जनाएको छ ।

२०७६ साउन ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: