Thu. Sep 19th, 2019

बदलिएका तीजका भाका

१ भाद्र , काठमाडौं –
तीज नजिकिँदै छ। दिदीबहिनी रातो पहिरनमा सजिएर छमछम नाच्न तयार छन्। यसका लागि तीज विशेष थुप्रै गीत बजारमा आइसकेका छन्। जुन आजभोलि नयाँ पुराना तथा रिमिक्स भर्जनमा गाउँघर तथा सहरबजारका गल्लीगल्लीमा गुञ्जिरहेछन्।

चलचित्र कन्यादानको ‘तीजको लहर आयो बरिलै’ गीतले नेपाली हिन्दु महिलाका लागि तीज महत्वपूर्ण पर्व भएको भाव व्यक्त गर्छ। तीजसँग सम्बन्धित यो पुरानो गीत हो। नायिका गौरी मल्लको अभिनय रहेको यो गीतमा वर्षौंपछि भेट भएका दिदीबहिनी एकअर्कालाई खुलेर नाच्न भनिरहेछन्। तीज नेपाली हिन्दु महिलाका लागि हर्ष र उल्लासको पर्व हो। वर्षभरि घरमा सासू, नन्द, आमाजूको गाल सहेर बसेका विवाहित नारीले आफ्नो दुःखका कथा तीजमा नै माइती र साथीसंगीसँग बाँड्थे। गीतमै भनिएको छ ‘नौ डाँडा काटेर गएका चेली भाग्यले भेट्न पाएछौं फेरि।’

तीज सकिएपछि रमाइलो गर्न र दुःखसुखका बात मार्न नपाने हुँदा फेरि गीतमा भनिन्छ ‘को कहाँ पुग्ने हो केही थाहा छैन। आजको भेट फेरि हुने हो हैन।’ सन् १९९१ मा बनेको यो गीतको मर्म अहिले पनि उस्तै छ। तर वैदेशिक रोजगार र दसवर्षे सशस्त्र द्वन्द्वकालपछि यो चाड मनाउने शैली परिवर्तन भयो। सर्वसाधारणमा सामाजिक, आर्थिक र राजनीतिक चेतना बढेसँगै तीज गीतमा सुनिने दुःख आजभोलि सुखमा परिणत भएका छन्।

हिजो माइती घर, धार्मिकस्थल तथा पधेँरो चौतारामा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको छ। पारम्पारिक वाद्यवादन र लोकलयमा गाइने तीज गीत आधुनिक बाजागाजा र अनेक मेलोडीमा बन्न थालेका छन्। यो समयको माग पनि हो। समयको मागलाई बुझेर होला ‘तीजको लहर आयो बरिलै’ गीत रिमेक गरिएको छ। भिडियो नयाँ बनाइएको छ। पुरानो गीतमा गौरी मल्ल र नृत्यांगना गुन्युचोली र सारीमा नाचेका छन्। नयाँ भर्जनको गीतमा फरकफरक डिजाइनका राता सारीमा करिश्मा मानन्धर, भुवन चन्दजस्ता कलाकारले कम्मर मर्काएका छन्। गीतलाई आजका पुस्तालाई छमछप नाच्न मिल्ने बनाइएको छ। साथै महिलाका दुःख पीडा मात्र होइन विविध पक्षसँग जोडिएर अहिलेका तीज गीत बन्न थालेका छन्।

फेरि मौलिकतातर्फ

तीजमा रातो, हरियो, पहेँलो रङको पहिरन र चुरापोतेमा सजिनुको धार्मिक महत्त्व छ। तर यो विषय आजभोलि फेसन भइसक्यो। गरगहना लगाउने र नयाँ डिजाइनका पहिरन लगाएर प्रतिस्पर्धा नै गर्ने विकृति भित्रिएको छ। तीजका प्रायः म्युजिक भिडियोमा पहिरन र गरगहनालाई बढी महत्त्वदिएर प्रस्तुत गरेको देखिन्छ। तर गायिका सिर्जना थापा खनाल भन्छिन्, रातो लगाउनु नै तीजको मौलिकता झल्काउनु हो। तर सिर्जनाका अनुसार तीज गीतले साधारण खानपान र पहिरनलाई जोड दिनुपर्छ।

सिर्जनाको ‘केले मलाई सुहायो’ बोलको तीजगीतमा घरको शोभा नै छोरीचेली भएको बताइएको छ। गीतमा शृंगारको प्रसंग पनि उनले उठाएकी छन्। तीजमा महिला दिदीबहिनी अन्य समयमा भन्दा बढी सजिएर बस्ने भएकाले चुरा, टीका, धागोको प्रसंग निकालेको उनले बताइन्।

भड्काउ तीज गीत

आजभोलि तीजकै नाउँमा भड्काउ गीत थुप्रै बनेका छन्। कुनैकुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका छन्। उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय पनि त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन। सिर्जना भन्छिन्, ‘यस्ता गीतले तीजको मर्म मारेको छ।’

समयसँगै समाजको सांस्कृतिक र सांगीतिक पक्ष परिवर्तन भएका छन्। तर विगत केही वर्ष आधुनिकताको नाममा सस्तो लोकप्रियता कमाउने बाटो पनि गायकगायिकाले नरोजेका होइनन्। यसको सुरुआत ‘पोइल जान पाम्’ गीत चर्चित भएपछि भएको थियो। ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ लगायत तीजमा दरको साटो रक्सी खाइन्छ जस्ता गीतसमेत बनेका छन्। यी गीतले युट्युबमा भ्युवर बढाएका पनि छन्। सिर्जना थापाका अनुसार यस्ता गीत दीर्घकालीन हुन्नन्। छोटो समयका लागि आउँछन् र हराउँछन्।

गीतमा महिला सशक्तीकरण

आजका महिला प्रायः कामकाजी छन्। आफ्नो खर्च आफैं जुटाउन सक्छन्। उनीहरूलाई पहिले जस्तो श्रीमान् र परिवारसँग हात फैलाउनुपर्ने अवस्था अहिले छैन। केही नयाँ गायकगायिकाले यही विषयलाई उठाएका छन्। जुन मौलिक परम्पराअनुसार नै गाइएको छ।

गायिका सिर्जना खत्री (हाउडे माया) ले यसपालि मौलिक तीज गीत सार्वजनिक गरिन्। ‘कर्कलोको पात’ बोलको उक्त गीतमा महिलाले काम गर्दै घरसमेत सम्हालिरहेको प्रसंग उठाइएको छ। सिर्जना भन्छिन्, ‘यो मौलिक तीज गीत हो। गीतबाटै महिला दिदीबहिनीलाई प्रेरित गर्न खोजेकी छु।’

‘तीज पुरुषको पनि चाड हो’

तीज महिलाको चाड भएकाले यसमा गीत गाउनेहरू पनि महिला मात्र हुन्थे। अहिले महिला पुरुष दुवैले तीजका गीत मिलेर गाउँछन्। अहिले तीज गीत गायिकाले जति रमाइलो मानी गाउँछन् गायकले पनि गाउँछन्। हरेक क्षेत्रमा महिला र पुरुषको अधिकार बराबर हुने भनिरहँदा तीज महिलाको मात्र चाड हुन नसक्ने गायक पशुपति शर्मा बताउँछन्। ‘तीज पुरुषको पनि चाड हो’, उनी भन्छन्, ‘त्यसैले तीज गीत पुरुषले पनि गाउनु पर्छ।’ यसको सुरुआत आफैंले गरेको बताउँदै शर्मा भन्छन्, ‘मानिसको सोचाइ फराकिलो हुँदै गएको छ। तीज नारीको महान् चाड हो भने पुरुषले यसमा अहम् भूमिका निभाएका हुन्छन्।’ माइतीका चेलीबेटीलाई दर खुवाउने, उनीहरूको दुःखसुख बुझ्ने दाजुभाइ नै हुने भएकाले यो पर्वको महत्त्व पुरुषलाई पनि छ।

व्रत प्राथमिकतामा पर्दैनन आज भोलिका तीज गीतमा पानीसमेत नखाई व्रत बसेर पूजा आराधना गर्ने प्रसंग छैनन्। विशेषत तीजमा महादेवको पूजा आराधना गरिन्छ। माता पार्वतीले सम्पूर्ण नारीले आफूले चिताएको वर छान्न पाउनु नैसर्गिक अधिकार भएको भन्दै महादेव पाउन व्रत बसेकी थिइन्।

यो पर्वमा चेलीले माइतीमा भेटघाट गर्ने, दर खाएर रमाइलो गर्ने गर्छन्। कतिपय महिला जलाहार र निराहार बस्छन्। तर स्वास्थ्यलाई असर गर्ने गरी उपवास बस्न नहुने गायिका राधिका हमाल बताउँछिन्। अहिलेका गीतसंगीतमा निराहार बस्ने प्रसंग कमै निकालिन्छ। हमाल भन्छिन्, ‘समयसँगै परम्परा परिर्माजन हुँदै जानुपर्छ।’ अहिलेका तीज गीतमा खाने, लाउने र रमाउने प्रसंग बढी छ जुन समयको बदलाव भएको उनले बताइन्।

देशको विसंगति झल्काउने गीत

गायिका राधिका हमालले पनि तीज गीत ल्याएकी छन्। हाम्रो नेपालमा बोलको यो गीतमा देशमा घटेका पछिल्ला घटनाक्रम वर्णन गरिएको छ। निर्मला बलात्कार प्रकरणदेखि हत्या हिंसा, विकृति, विसंगति गीतको शब्द बनेका छन्। गीतको माध्यमबाट वर्तमान सरकारको भत्र्सना पनि गरिएको छ। समाजको कमी कमजोरी गीतको माध्यमबाट अगाडि आउनुपर्ने हमाल बताउँछिन्। उनका अनुसार महिलाले शदीयौंदेखि दुःख पीडा भोग्दै आएका थिए। त्यही पीडा तीजको गीतमा झल्कन्थ्यो। ‘तर समय पहिले जस्तो रहेन’, उनी भन्छिन्, ‘अहिले प्रायः महिला कामकाजी छन्, व्यस्त छन्। आफैं कमाउन सक्षम भएकाले रमाइलो गरी तीज मनाउँछन्। त्यही रमाइलो तीज गीतमा पनि झल्केको हो।’ अहिले महिलाका मुद्दा मात्र होइन देशकै मुद्दा समातेर तीज गीत बन्न थालेको पनि उनले बताइन्।

नयाँ तीज गीतमा माइती जान नपाएको दुःख पनि प्रशस्त छन्। ती गीतमा श्रीमान् र परिवारबाट हेलाँ गरेको प्रसंग छन्। जुन दुर्गम गाउँ समाजमा अझै कायमै छ। गायिका टीका सानुको नयाँ तीज गीत ‘बुहारी’ सिरिजमा महिलाले कर्म घरमा भोग्नु परेको व्यथा उल्लेख छ। त्यस्तै कमेडी झल्कने गीत पनि थुप्रै बनेका छन्। राधिका हमाल, रीता केसी र सन्तोष केसीले गाएको सौता बोलको गीत कमेडी तीज गीतको रूपमा आएको हो।

Loading...

अन्य समाचारहरु: