Tue. May 13th, 2025

रोकिएन गाईजात्रे हाँसो

३ भदौ , विराटनगर –

दिन ढलेर साँझ पर्दै जाँदा विराटनगरको वीरेन्द्र सभागृह भने बढ्दै गएको भीडले गुञ्जिरहेको थियो। कार्यक्रमको समर्थनमा दर्शकबाट तालीका पर्रा छुट्दै गर्दा हलभित्र एकाएक संगीत गुञ्जियो। त्योसँगै सबैको ध्यान खिचेर बुद्ध धर्म गुरुको आवाज निस्किन थाल्यो। बुद्धिष्ट पोसाकमा एक व्यक्ति दर्शकदीर्घा छिचोलेर पछाडितर्फको ढोकाबाट मञ्चतर्फ अघि बढ्दै थिए। सबै दर्शकलाई पेट मिचिमिची हँसाउँदै अघि बढेका उनै गुरु थिए, हास्यकलाकार मनोज गजुरेल।

उनले बुद्धिष्ट लवजमा विराटनगर प्रदेश १ को राजधानी भए पनि प्रदेशले नाम पाउन नसकेको भनेर व्यंग्य गरे। यो दृश्य हो विराटनगरमा शनिबार राति सम्पन्न ‘प्रदेश प्रदेशमा गाईजात्रा’ को।

कार्यक्रमको सुरुआत गरेका हास्यकलाकार मनोज गजुरेलले प्रदेशको नाम कहिले राख्ने भनेर बुद्धिष्ट लवजमै मन्त्रीलाई प्रश्न गरेका थिए। त्यो प्रश्नले दर्शकको समर्थन पाइरहँदा मन्त्रीहरू भने मुसुमुसु हाँसिरहे। कार्यक्रमले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली, उद्योगपति तथा उपस्थित सबैको ध्यान खिचेको थियो। मञ्चतिर मात्रै नजर लगाएका सबैले समय वितेको पत्तै पाएनन्।

कार्यक्रम सुरुआतसँगै प्रदेश १ को नाम, मुलुकको राजनीतिक दुरवस्था तथा सामाजिक विषयमा तिखो प्रहार गरेका गजुरेलले विभिन्न तरिकाबाट दर्शकलाई हँसाएका थिए। हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठको प्यारोडी गीतले दर्शकलाई आनन्द दिलाए। सभागृहमा करिब तीन घण्टा दर्शक कब्जा गर्न सफल बनेका हास्यकलाकारको गाईजात्रे प्रस्तुति सम्झनलायक र प्रशंसायोग्य थियो।

About The Author

अन्य समाचारहरु: