Wed. May 14th, 2025

सारंगीमा छैन युवाको चासो

२२ कार्तिक, काठमाडौ –

पर्यटकहरूको आवतजावत भइरहेको ठमेलको व्यस्त बजार जेपी मार्गको छेउमै सारंगीको र्‍याइँर्‍याइँ धुन बजाइरहेका भेटिन्छन्, गोरखा धारापानी ७ का सुरेश गान्धारी । त्यही उनको सारंगी, मादल र मुरलीको ‘सारंगी फोक म्युजिक सप’ पनि छ ।

गान्धारीले सारंगी रेटिरहँदा गन्धर्व जातिले मात्र गाउने मौलिक विशेषता बोकेको वीरगाथाको ‘कर्खा’ गीतका धुनले वरिपरिको वातावरणलाई संगीतमय बनाइरहेको थियो ।

बटुवाहरू उनको धुन केहीबेर अडिएरै सुन्थे । जाति, पुर्खाको मौलिक लोकबाजालाई बचाउँदै निरन्तर बिहानीको झुल्के घामसँगै ठमेलमा पर्यटकलाई सारंगीको धुनमा स्वागत गरेर नै गान्धारीले झन्डै दुई दशक बिताइसके । धुन मात्र होइन, त्यसमै लय हालेर उनी गीत गाउँछन् र कसैले मन पराएमा सारंगी पनि बेच्छन् ।

यस्तै दैनिकले उनको रोजीरोटी त चलेकै छ, ठमेल आउने देशी, विदेशी पाहुनाले सारंगीको धुन सुन्न र त्यसमा रमाउन पाएका छन् । गन्धर्व जाति र नेपालकै मौलिक लोकबाजा सारंगीलाई चिनाउन गान्धारी मात्र होइनन्, अहिले गोरखा ठाँटीपोखरी ५ का नरबहादुर गन्धर्व, तनहुँ भन्सारका शमशेर गन्धर्व, लमजुङ तार्कुवार ८ का अर्जुन गन्धर्व लगायतका करिब ३५र४० सारंगीवादकको दिनचर्या ठमेलवरिपरि सारंगीको धुन रेटेर नै बित्छ । ठमेलको चोक–चोकमा उनीहरू लोक, झ्याउरे लयका विरह, दुःख र ऐतिहासिक गाथाका गीतहरू गाउँदै धुन बजाएर घुमिरहन्छन् । उनीहरू विदेशी पाहुनालाई सारंगी र धुन चिनाउँछन् र नेपाली चिनोस्वरूप लैजान सुझाउँछन् ।

२०७६ कार्तिक २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: