Sun. May 12th, 2024

बंगलादेशसंग कनेक्टिभिटी पहिलो प्राथमिकता हो : राजदुत डा. मिश्र

तीन दशक पछि मित्रराष्ट्र बंगलादेशबाट नेपालमा राष्ट्रप्रमुख स्तरीय भ्रमण हुँदैछ । बंगलादेशका राष्ट्रपति महामहिम अब्दुल हमिद आजदेखि चारदिने औपचारिक सद्भावना भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ । बंगलादेश र नेपालबीचको घनिष्ठ एवं सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउन बंगलादेशस्थित नेपाली दुतावासले पहल गरिरहेको छ । फलस्वरुपः उच्चस्तरको भ्रमणको सुरुआत भएको छ । दुई देशबीचको सम्बन्धलाई परस्पर लाभको आधारमा अझ उचाईमा पु¥याउने उद्देश्यका साथ करिब डेढ महिना अघिदेखि बंगलादेशका लागि नेपाली राजदुत डा. वंशीधर मिश्र अहोरात्र खटिरहुनभएको छ । सन् १९४७ को अगष्ट १४–१५ मा भारतको राजनीतिक विभाजन भई बनेको पाकिस्तानको पूर्वी भागको रुपमा अस्तित्वमा आएको तत्कालीन पूर्वी पाकिस्तानको नामले चिनिएको भूमि वृहद स्वायतता, पहिचान र पश्चिमी पाकिस्तानद्वारा सिर्जित भेदभावविरुद्ध संघर्षका क्रममा बंगाली स्वतन्त्रता आन्दोलनमार्फत् २६ मार्च १९७१ मा पाकिस्तानबाट अलग स्वतन्त्र देश भएको घोषणा भएको थियो । संघर्षको इतिहासबाट उदाएको बंगलादेशले पछिल्लो दशकमा तीव्र आर्थिक विकास गरिरहेको छ भने खाद्यान्नमा आत्मनिर्भर बनेको छ । लोभलाग्दो विकासको गतिमा रहेको बंगलादेशसंगको सम्बन्धलाई जनस्तरसम्म पु¥याउने कामले गति लिइरहँदा भ्रमणको ठिक अघि राजदूत डा. मिश्रसँग श्रीधर न्यौपानेनबराज छत्कुलीले ढाकास्थित नेपाली दुताबासमा गर्नुभएको कुराकानीको सम्पादित अंश–

सर्वप्रथम, बंगलादेशका लागि नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्नुभएकोमा बधाई, सफल कार्यकालको शुभकामना, सक्रिय राजनीतिबाट कुटनीतिक क्षेत्रमा आउनुभएको छ, कस्तो अनुभूति भईरहेको छ ?
यहाँलाई धेरै धेरै धन्यवाद । म लामो समयसम्म सक्रिय राजनीतिमा रहें । तीन पटकसम्म जनताका प्रतिनिधिका रुपमा काम गरेँ । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक र नेकपा एमालेको २०६१ अषाढमा गठित संयुक्त सरकारमा स्वास्थ्यराज्य मन्त्रीका रुपमा सेवा गरें । संविधान निर्माणमा पनि सक्रिय भूमिका रह्यो । अहिले राजदूतका रुपमा बंगलादेशमा छु । राजनीति र कुटनीतिमा धेरै अन्तर छैन, एक अर्कामा सम्बन्धित छन् । राजदूतका रुपमा मेरो नियुक्ति र बंगलादेशमा ओहोदाको प्रमाणपत्र बुझाएपछि अहिले दुई देशबीचको सम्बन्ध र सम्भावनाबारे गहन अध्ययन गरिरहेको छु, पूर्णरुपमा काम सुरु गरेको डेढ महिना हुँदै छ । यो अवधिमा केही कामको सुरुआत मात्र गर्न सकिएको छ । उच्चस्तरीय भ्रमणको सुरुआत भएको छ । म केही गरेर देखाउँछु भन्ने अठोटका साथ आएको हुँ, त्यहि अठोटका साथ काम अघि बढिरहेकै छ ।

यहाँले कुन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
मलाई यही प्रश्न संसदीय सुनुवाईका क्रममा पनि सोधिएको थियो । मेरो प्राथमिकता भनेको नेपाल र बंगलादेशबीचको ‘कनेक्टिभिटि’ हो । दुई देशबीचको सम्बन्धलाई जनस्तरमा जोड्ने काममा लागिरहेको छु । नेपाल र जनगणतन्त्र बंगलादेशबीच ८ अप्रिल १९७२ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै परस्पर समझदारी सौहार्द एवं हार्दिकतापूर्ण सम्बन्ध कायम छ । नेपाल र बंगलादेशबीच साझा मुद्दाहरुमा राष्ट्रिय अन्तराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको छ । यसमा जलवायू परिवर्तनदेखि अन्तराष्ट्रिय सहयोगसम्मका विषयहरु छन् । दुवै मुलुक प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्छन्, विकासका लागि समान खालका चुनौतिहरुको सामना गरिरहेका छन् । हालका वर्षहरुमा बंगलादेशले गरिरहेको आर्थिक तथा सामाजिक क्षेत्रको विकासप्रति नेपालीहरु प्रभावित भएका छन् । यस्तो अवस्थामा यी दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन मेरो विशेष पहल रहनेछ । व्यापार, पर्यटनलगायतका क्षेत्र पनि प्राथमिकतामा छन् ।

तपाईले भन्नुभएजस्तै दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पु¥याउन सुरुवाती थालनी कसरी हुँदैछ ?
नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरको भ्रमणका लागि पहल गरिएको छ । मित्रराष्ट्र बंगलादेशका राष्ट्रपति महामहिम अब्दुल हमिदको नेपाल भ्रमणकै विषय हेरौं, यस्तो भ्रमण नभएको लामो समय भएको थियो । यो भ्रमणले दुवै देशमा नयाँ र सकारात्मक सन्देश दिनेछ । महामहिम राष्ट्रपतिको भ्रमण पछि पनि नेपालबाट पनि उच्चस्तरको भ्रमण हुनेछ । नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट भ्रमण हुने सैद्धान्तिक सहमति भएको छ । त्यसपछि दुई देशबीच विभिन्न चरणमा वार्ता र छलफल हुनेछन् । प्रधानमन्त्री स्तरमा भ्रमण गराउनका लागि पनि पहल भईरहेको छ । उच्चस्तरीय भ्रमण हाम्रो प्राथमिकतामा छ । यस्ता भ्रमणहरु प्रत्येक बर्ष गराउने योजनामा हामी लागिरहेका छौं । उपल्लो तहदेखि जनस्तरसम्मका भ्रमणको थालनी भईसकेको छ । जसले एक–अर्कालाई जोड्न मद्दत गर्नेछ ।
नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेर विविध कार्यक्रम गरिरहेको छ ।

नेपालप्रति बंगलादेशी नेताको बुझाई र नेपाल जाने इच्छा कत्तिको देखिन्छ ? दूतावासले यसका लागि कस्तो पहल गर्दैछ ?
निकै महत्वपूर्ण विषय उठाउनुभयो, नेपाल र नेपालीप्रति बंगलादेशी जनतामा सकारात्मक भावना पाएको छु । यसलाई थप बलियो बनाउनुपर्छ । नेपालको एयरपोर्टका बारेमा बंगलादेशमा केही भ्रम छ । एउटा विमान दुर्घटनालाई लिएर पालिएको नकारात्मक धारणा चिर्नुपर्ने छ । नेपालमा पनि बंगलादेशको हिंसात्मक गतिविधि र जलप्रकोपलाई लिएर केही असुरक्षाको भाव पाईन्छ । बंगलादेश प्राकृतिक प्रकोपबाट बच्न गरिने पूर्वतयारीका लागि निकै अघि छ । यसमा भएको सुधारबाट हामीले धेरै कुरा सिक्न सक्छौं । नेपालका नदिमा हुने दुर्घटना र खोजका लागि बंगलादेशी गोताखोर लैजाने गरिन्छ । विपद व्यबस्थापनका विषयमा नेपालका सुरक्षा अधिकारीहरुले बंगलादेशमा आएर तालिम लिएर गएका छन् । नेपालमा असिम प्राकृतिक सौन्दर्यता र अलौकिकता छ, ती कुरा हेर्नका लागि हामीले बंगलादेशका नागरिकलाई आग्रह गर्नुपर्छ । हामी त्यसको तयारी गरिरहेका छौं । हामीले बंगलादेशका पत्रकार, साहित्यकार, सिनेकर्मी लगायतलाई नेपालको भ्रमणमा लैजाँदै छौं । उहाँहरुले नेपाल घुमेर आउनुभएपछि बंगलादेशमा थप सकारात्मक सन्देश दिने छ । दुबै देशबाट मिडिया भिजिट गराउने कार्यक्रम पनि छन् । सामाजिक सञ्जालमार्फत पनि भ्रमण वर्षको प्रचारप्रसार गर्दैछौं । बंगलादेशसंगको निटकटताले दुशै देशका जनतालाई फाईदा पु¥याउँछ । करिब एक करोड पचास लाख हाराहारी हिन्दू र दशलाख बढी बौद्धमार्गी, अन्य मुस्लिम गरी करिब १७ करोड जनसंख्या रहेको तथा मध्यम तथा उच्च मध्यम वर्गको बाहुल्य जनसंख्या रहेको बंगलादेशबाट न्यून संख्यामा मात्र पर्यटक नेपाल जाने गरेको क्रमलाई परिवर्तन गर्दै अधिक संख्यामा नेपाल भ्रमण गराउने पहल प्रयत्न भईरहेको छ ।
नेपालको पर्यटकिय आकर्षणको बारेमा बंगलादेशमा बिभिन्न कार्यक्रमहरु गरी प्रचारप्रसारको व्यवस्था मिलाईरहेका छौं । यसका लागि विभिन्न प्रदर्शनी तथा महोत्सवको आयोजन हुँदैछन्, त्यसको सहजीकरण दूतावासले गर्नेछ । नेपाल भ्रमण वर्ष २०२० बारे बंगलादेशका सञ्चार माध्यम तथा सामाजिक सञ्जालका माध्यमबाट प्रचारप्रसारको व्यवस्था गरिरहेका छौं । नेपाल भ्रमण गर्न चाहने बंगलादेशी पर्यटकहरुलाई भिषा सहजीकरणका लागि काम भईरहेको छ ।

नेपालले व्यापार र आर्थिक सम्बन्धमा बंगलादेशसंग कसरी काम गर्न सक्छ ? यहाँले अध्ययन गर्न भ्याउनुभएको छ ?
नेपाल र बंगलादेशका बीच वाणिज्य तथा आर्थिक सम्बन्ध निरन्तर बढ्दो अस्थामा छ । काँकरभिट्टा फुलबारी बंगलाबन्ध रुट खुल्ला भएपछि बंगलादेश सरकारले उसको मोंग्ला बन्दरगाहबाट विभिन्न देशमा कारोबार गर्न सहमति प्रदान गरेको छ । बंगलादेशले पारवहनको लागि अतिरिक्त रेल कोरिडोर समेत प्रदान गर्ने सहमति भएको छ । नेपाल बंगलादेशबीच आवागमन तथा पारवहनको अतिरिक्त व्यवस्था गर्न रोहनपुर सिंहाबाद रेलवे रुट प्रदान गर्ने सम्बन्धमा नेपालले बंगलादेशलाई प्रस्ताव पठाएको छ ।
नेपाल र बंगलादेशबीच ५ मार्च २०१९ का दिन काठमाण्डौमा दोहोरो कर हटाउने र आयमा लाग्ने अतिरिक्त कर सम्बन्धि छुट रोकथाम सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै मुलुकका बीच लगानी विस्तार र व्यापार अभिवृद्धिमा मद्दत पुग्ने विश्वास छ । नेपाल र बंगलादेशबीच व्यापार, लगानी र संयुक्त आर्थिक कारोबारको धेरै सम्भावना भएपनि उपयुक्त यातायात सम्पर्क संयन्त्रको अभाव, सीमा बिन्दूमा प्रयाप्त पूर्वाधारको अभाव, निजी क्षेत्रको पहलकदमीको अभाव र कर बाहेकका अन्य बाधाहरुको कारण सम्भावना साकार हुन सकेको छैन । बंगलादेशले नेपालको अपार जलस्रोतबाट ऊर्जा क्षेत्रमा प्रशस्त लाभ लिन सक्ने सम्भावना देखेर लगानी गर्न रुची देखाएको छ । २१ जुन २०१९ मा बंगलादेशको ढाकामा सम्पन्न नेपाल बंगलादेश संयुक्त उर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएका छन । नेपालको जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने, नेपालबाट बंगलादेशसम्म विद्युत निर्यात गर्ने र दवै देश वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको छ । यस्ता सहमतिले व्यापार र आर्थिक सम्बन्धलाई थप उचाईमा पु¥याउन सक्छ भन्ने विश्वास छ । नेपालको पूर्वी नाकाबाट अलैंची, चिराईतो, अदुवा, अमृसो, चिया लगायतका हरियो सागपात, बंगलादेश आउने गरेको थियो । बीचमा केही अवरोध उत्पन्न भएको भन्ने सूचना छ, त्यसको कारण पत्ता लगाएर छिट्टै समाधान गर्ने पहल गर्ने छु ।

नेपाल र बंगलादेशका नागरिकले बसबाट ओहोरदोहोर गर्न स्थल मार्गको विषयले चर्चा पाएर पनि सेलायो, यसबारे केही पहल गरिरहनुभएको छ ?
विगतमा सम्झौता भएरपनि कार्यान्वयन हुन नसकेको काठमाडौं ढाका बस सेवा सञ्चालन एवं नियमित गर्न पहल थालेको छु । यसमा केही अप्ठेरा पनि देखिएका छन् । बंगलादेशका प्रमुख शहर एवं बन्दरगाहरुबाट सिधा बस एवं रेल सेवासंग नेपालका बिभिन्न शहरहरुलाई जोड्न सम्भावित उपायहरुको खोजी गरी संझौताको पहल गर्ने योजना छ ।

नेपालले बंगलादेशबाट लाभ लिन सक्ने मुख्य क्षेत्र कुन कुन हुन् ? हामी नेपालबाट बंगलादेशमा के के पठाउन सक्छौ?
यो निकै महत्वपुर्ण विषय हो । नेपालबाट बंगलादेशमाढुङ्गा निकासीको ठूलो सम्भावना छ । यसकालागि नेपाल सरकारको नीतिगत निर्णय र सरोकारवालाहरुसँग व्यापक छलफल गरी महाभारत पर्वत श्रृंखलाका कतिपय पहाडहरु वातावरण तथा भू–गर्भविदहरुको सल्लाहमा कटान गरी त्यहाँको ढुंगा बंगलादेशमा निकासी गर्न सकिन्छ । तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँदै बंगालको खाडीमा चुरेको माटो जम्मा हुने प्रक्रियालाई न्युनिकरण गरी बंगलादेशको डुबान समस्या समाधानमा पनि सहयोग पु¥याउन सकिन्छ । यसो गर्दा चुरे संरक्षण, नयाँ बस्ती निर्माण र बंगलादेशलाई ढुङ्गा बिक्री गरी तीनथरी लाभ लिन सकिन्छ । यो बहसको विषय हो । सामान्यस्तरमा हरियो सागपात, अलैंची, चिराईतो, अदुवा, अमृसो, चिया, दलहन जस्ता दैनिक प्रयोग हुने खाद्यवस्तु छन् । नेपालका व्यापारीहरुमाझ पनि बंगलादेशसंगको व्यापारीक फाईदाका विषयमा छलफल गर्न जरुरी छ ।

२०७६ कार्तिक २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: