पर्वत – म्यादीको राम्चे–९ मा माथिबाट खेसेको पहिरोले थुनिएको कालीगण्डकी नदीको पानी ओभर फ्लो भएर बग्न थालेको छ । राम्चे–९ काफडाँडा बैंसरीमा माथिबाट खसेको पहिरोले थुनिएको नदी पहिरोले बनाएको बाँध माथिबाट बग्न थालेको हो । शनिबार राति एक बजेदेखि थुनिएको नदीको पानी आइतबार बेलुका सवा ५ बजेबाट ओभर फ्लो भएर बग्न थालेको नेपाल प्रहरीले जनाएको छ । ओभर फ्लो भएर बगेको पानीको गती सामान्य रहेको प्रहरीले जनाएको छ ।
१५ घण्टा सम्म थुनिएको नदीबाट पानी बग्न थालेपछि तल्लो क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । पानीको बहाब कुन मात्रामा बढ्छ त्यसकै आधारमा तल्लो तहमा क्षति पुग्ने भएकाले प्राविधिक टोलीले अध्ययन गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । ‘अहिले नै कति मात्रामा पानीको बहाब बढ्छ भन्न सकिन्न, ठुलो मात्रामा कटान नभएमा क्षति कम हुनेछ ’ उहाँले भन्नुभयो ‘तल्लो क्षेत्रमा ठुलो धनजनको क्षति पुग्ने भएकाले त्यसका लागि सबै क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।’
शनिबार राति एक बजे राम्चे गाविस ९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिरोले कालीगण्डकी थुनेको हो । झण्डै पाँच सय मिटर माथिबाट पहाड भत्किएर खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । नदी थुनिएर ठुलो तलाउ बनेको छ । पहिरोले भगवती–२ बैसरी र राम्चे–९ को औल गाउँका २६ वटा घर पुरेको छ । दुई वटा झोलुंगे पुल, विद्युतका पोल पनि पुरीएका छन् । नदी थुनिदाँ बैसरी माथि तिन चार किलोमिटरसम्म तलाउ बनेको देखिएको छ ।
पानीको मात्रा बढेपछि म्याग्दीका गलेश्वर, पर्वतको बगरफाँट, म्याग्दीको बेनी र पर्वतको बेनीबजार उद्योग बासिन्दा सबैभन्दा बढी जोखिममा छन् । यस्तै मालढुंगा, फर्से, खनियाँघाट, मोदीवेणी, सेतीवेणीलगायतका क्षेत्रमा समेत खतरा बढेको छ । नदीकिनारमै रहेको पर्वतको मालढुंगास्थित बस्तीका बासिन्दाहरु पनि सुरक्षित स्थान तर्फ लागेका छन । यहाँका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको र मानवीय क्षति नहोस भनेर प्रयास भैरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।