Thu. Apr 9th, 2020

ओलम्पिक रोक्न माग


५ चैत , लन्डन, –

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुदको भविष्य पनि अन्योलमा परेको छ। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आगामी जुलाई २४ देखि अगस्त ९ तारिखसम्म जापानको राजधानी सहर टोकियोमा आयोजना हुने कार्यक्रम छ।

तर, चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका रूपमा विश्वभर फैलिएपछि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने माग बढ्न थालेको छ। आयोजक राष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरेको एक दिनपछि नै सोमबार एक ब्रिटिस खेलाडीले टोकियो ओलम्पिकको मिति सारिनुपर्ने धारणा व्यक्त गरेका छन्।

ब्रिटेनका धावक गुय लियरमन्थले तत्कालका लागि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने बताएका हुन्। यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले भने हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। लियरमन्थले गत वर्ष सम्पन्न युरोपियन इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा ब्रिटिस टोलीको कप्तानको भूमिका निर्वाह गरेका थिए। उनी आठ सय मिटर दौडका धावक हुन्।

गुय लियरमन्थ ओलम्पिक रोक्न माग गर्ने पहिलो ब्रिटिस खेलाडी हुन्। ‘ओलम्पिक आयोजना गर्ने यो उपयुक्त समय होइन। मानिसको जीवनभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ’, उनले भनेका छन्, ‘सफल ओलम्पिक हामी सबैको चाहना हो तर, त्यसका लागि उपयुक्त समय पर्खनु बुद्धिमानी हुनेछ।’

उनले कोरोना भाइरस संक्रमणको अवस्था हेरेर आगामी अक्टोबरमा ओलम्पिक आयोजना गर्नु उपयुक्त हुने सुझाव पनि दिएका छन्। ‘हतार नगरौं, आगामी अक्टोबरमा ओलम्पिक आयोजना गर्दा हुन्छ। स्थिति अनुकूल भएपछि सन् २०२१ मै आयोजना गर्दा पनि हुन्छ’, उनले भनेका छन्।

यसअघि आइतबार जापानका प्रधानमन्त्री आबेले निर्धारित समयमै ओलम्पिक गर्न जापान तयार रहेको बताएका थिए।

‘कोरोना भाइरसका कारण ओलम्पिक सारिनु पर्ने कारण छैन। कोरोनाको संक्रमणबाट जोगिने विषयमा हामी सचेत छौं,’ आबेले भनेका थिए। जापानले ओलम्पिकका लागि १।३५ ट्रिलियन जापानी येन खर्च गरिसकेको छ।आईओसीका सदस्य डिक पाउन्डले भने यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका छन्। उनले स्वास्थलाई ख्याल गरी आईओसी यसमा सचेत हुनुपर्ने पनि बताए। ओलम्पिकलाई लक्षित गरी गरिएको तयारीलाई कतिपय देशले स्थगित गरिसकेका छन्।

यसैबीच, टोकियो ओलम्पिकका लागि ओलम्पिक ज्योति हस्तान्तरण कार्यक्रम पनि बन्द रंगशालामा गरिने भएको छ। आधुनिक ओलम्पिकको सुरुआत ग्रिसबाट भएकाले विश्वकपको जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ग्रिसबाटै ओलम्पिक ज्योति ल्याउन प्रचलन रहेको छ।

तर, कोरोना भाइरसको त्रासका कारण ग्रिसमा ओलम्पिक ज्योति हस्तान्तरण कार्यक्रम बन्द रंगशालामा गरिने भएको छ। ओलम्पिक ज्योति प्रज्ज्वलन र हस्तान्तरण कार्यक्रम अर्को साता प्राचिन ओलम्पियामा हुनेछ। ओलम्पिक ज्योति हस्तान्तरण गरिए पनि ग्रिसमा ओलम्पिक ज्योति भ्रमण गराइने छैन।

२०७६ चैत ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: