Thu. Mar 28th, 2024

बागमती प्रदेशको बजेट बहुमतले पास


१९ असार, हेटौडा–


बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ । शुक्रबार बसेकोे प्रदेशसभा बैठकले बजेटलाई बहुमतले पारित गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले बजेटको विषयमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री डोरमणी पौडेलले बजेट पास गर्नको लागि सबै सांसदलाई आग्रह गरेका थिए ।

सत्तारुढ नेकपाबाहेक बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूले असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएका कारण विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित भएको हो । सांसदहरूको सवालमा मुख्यमन्त्री र मन्त्रीहरूले जवाफ दिएपछि सभामुख सानुकुमार श्रेष्ठले बजेट पारित भएको घोषणा गरेका हुन् । बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्र बजेटको विपक्षमा रहेका थिए ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो ०७६/०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो । गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ०७७/०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले बजेटको छलफलमा उठेको जवाफ दिँदै सरकारको काममा साथ दिन सबैलाई आग्रह गरेका छन् । ‘प्रदेश सरकार सबै राजनीतिक दल र संघीय, स्थानीय तहको सरकारसँग मिलेर काम गर्न तयार छ,’ मुख्यमन्त्री पौडेलले भने, कोरोना भाइरस (कोभिड १९) को महामारीमा एक अर्कालाई दोष थुपार्नु भन्दा पनि सबैसँग समन्वय गरेर काम गरौँ, आफ्नो घरअघि काम भए मात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गरौँ ।’

मुख्यमन्त्री पौडेलले दुई वर्षभित्र प्रदेशभरमा १ सय ७९ किमि सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको, ३३ पुल निर्माण, ८ सय ७ किमि सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए । कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आईसोलेसन, क्वारेन्टाइन, पिसिआर लगायतका कामका लागि कार्यक्रममा समेटेको छ । ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाइ छ ।

२०७७ असार १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: