Fri. Mar 29th, 2024

बागमती प्रदेशका ५१ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल बन्ने


१६ मंसिर, धादिङ–


बागमती प्रदेश अन्र्तगतका ५१ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल बन्ने भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा अस्पताल नभएका स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीति दिएको थियो । सोही अनुसार प्रदेशभरी एकैदिन ५१ वटा अस्पतालको शिलान्यास गरिएको छ । ५० वटा आधारभूत अस्पताल र एउटा सरुवा रोग सेवा भवनको शिलान्यास गरिएको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले बताए ।

देशभरका अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले बजेटको व्यवस्था गरि पहिलो चरणमा स्थानीय तहलाई बनेट समेत पठाइसकेको छ । शिलान्यास भएका अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइने बताइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मनहरी गाउँपालिकामा निर्माण हुन लागेको १५ शैयाको मनहरी अस्पतालको शिलान्यास गरेका छन् । प्रदेशका अन्य जिल्लाहरुमा पनि अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशको सिन्धुली, भक्तपुर, नुवाकोटका अस्पतालमा आईसियु, एचडियु र पिसिआर ल्याब संचालनमा आएको छ भने धादिङमा आईसियु र पिसिआर ल्याब सुरु गर्ने क्रममा रहेको मुख्यमन्त्री पौडेलले बताए । प्रदेश सरकार स्थापना भएपछि स्थानीय तहमा १७ वटा अस्पताल र स्वास्थ्य चौकी निर्माण भई संचालनमा रहेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा संचालनमा आएको सात शैयाको आइसियु तथा १० शैयाको एचडियु सेवाको उद्घाटन गरेका छन् । आइसियु अभावका कारण हेटौंडाका निजी अस्पताल र भरतपुर रिफर हुँदै आएका विरामी अब भने हेटौंडा अस्पतालमानै उपचार हुने भएको छ ।

आइसियु सेवा संचालनमा आएपछि स्वास्थ्य सेवामा फड्को मार्नेमा आफु निश्चित भएको मुख्यमन्त्री पौडेलले बताए । ‘हिजोको दिनमा सामान्य बिरामी पनि अन्य अस्पतालमा रिफर गर्नुपथ्योे अस्पतालको चौतर्फी आलोचना हुन्थ्यो,’ मुख्यमन्त्री पौडेलले भने, ‘अब त्यो कामको अन्त्य भएको छ, अब हेटौँडा अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्छ ।’

त्यस्तै भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शिलान्यास गरेका छन् । अस्पतालको शिलान्यास गर्दै मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पताल बिहीन नहुने बताए । सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागिएको उनले बताए ।

सरकारले पाँच शैयाको अस्पताल निर्माण गर्न आठ करोड, १० शैयाको अस्पतालका लागि ११ करोड र १५ शैयाका अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । हालसम्म अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल बनाउने योजनाअनुसार सबै अस्पतालको शिलान्यास गरिएको छ ।

२०७७ मंसिर १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: