Fri. Jul 4th, 2025

प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन


३१ बैशाख, धादिङ–


कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि बागमती प्रदेश प्रहरीले ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।

अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरिएको हो । अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरी संकलित अक्सिजन सिलिण्डर आवश्यकताको आधारमा विभिन्न अस्पताल, आइसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्य गरिएको छ ।

पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरिएको बताइएको छ ।

उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिदै आएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हालसम्म एक सय २९ थान भरिएका र पाँच सय ४१ थान खाली गरी जम्मा छ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ ।

संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न व्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको छ । जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ ।

स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको छ । प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तिब्रताका साथ अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

२०७८ बैशाख ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: