Wed. Sep 22nd, 2021

‘सीपमूलक जनशक्ति उत्पादनका लागि बहुप्राविधिक शिक्षालयको खाँचो छ’

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले धादिङको गजुरीमा धादिङ बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएर तेश्रो वर्ष चल्दैछ । यो वर्ष विद्यार्थीले चार वर्षे कार्र्स सकेर पासआउट हुँदैछन् । सुरुवाती वर्षहरुमा भन्दा पछिल्लो वर्षहरुमा यो शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । शिक्षालय प्रमुख डाकुरनाथ पराजुली भन्छन्, ‘सीपमूलक जनशक्ति उत्पादनका लागि बहप्राविधिक शिक्षालयको खाँचो छ ।’

प्राविधिक शिक्षालय किन आवश्यक छ ?
व्यावसायिक वातावरण सिर्जना, आर्थिक–सामाजिक उन्नति, स्वदेशमै स्वरोजगारी र श्रमको सम्मानका लागि प्राविधिक शिक्षालयको ठूलो आवश्यकता छ । अनौपचारिक वा औपचारिक शिक्षा लिएकाहरुको सीप परीक्षणका लागि पनि यो आवश्यक छ ।

बहुप्राविधिक शिक्षालयमा पढिसकेपछि रोजगार हुन कति सजिलो छ ?
विद्यार्थीहरुले १८ महिने टीएसएलसी वा तीनवर्षे डिप्लोमा कोर्स गर्न पाउँछन् । तीन महिने, ६ महिने कोर्सहरु पनि थुप्रै छन् । ४० विषयमा डिप्लोमा र २५ विषयमा टीएसएलसी गर्न सकिन्छ । यी सब पढ्ने अनि काम शुरु गरिहाल्ने कोर्स हो । रोजगार उन्मुख शिक्षा भएकाले अपवाद बाहेक सबैले काम पाउँछन् ।

धादिङ बहुप्राविधिक शिक्षालयको बारेमा केही भन्दिनुस् न ?
यहाँ डिप्लोमा सकेर व्याचलर सम्मका विद्यार्थी अध्ययन गर्ने भएकाले यसलाई बहुप्राविधिक शिक्षालय भनिएको हो । धादिङमा चाही बहुप्राविधिक शिक्षालयलाई हामीले धादिङ पोलिटेक्निक स्कुल नाम राखेका छौं । स्कुल भन्ने वित्तिकै सिक्ने र पढ्ने कुरा बुझिन्छ । भर्ना हुने बेलामा विद्यार्थी इन्चिच्युटमा भर्ना भएका थिए भने अब पासआउट भएर सर्टिफिकेट लिएर जाने बेला बहुप्राविधिक शिक्षालयको सर्टिफिकेट लिएर जानेछन् ।

कस्ता खालको शिक्षालाई प्राथमिकता दिएको छ ?
यो समुदायमा ८५ प्रतिशत मानिस कृषिमा आधारित छन् । तीनहरुका लागि विशेष सोच बनाउन सकिरहेका छैनौं । सरकारको प्राथमिकता पनि कृषिमा रहेको र हाम्रो श्रोत र साधन पनि कृषिमा नै प्रयाप्त भएकोले कृषि क्षेत्रकै ज्ञान सीपलाई प्राथमिकतामा राखेका छौं ।

‘बाख्राको बर्कम्लाको अध्ययन गर्नुपर्ने देशमा कम्प्युटरको अध्ययन गरेर देशमा समृद्धि आउँदैन’ भन्ने विकासवादीहरुको भनाईलाई आधार मानेर पनि कृषि लाई नै मुल विषय बनाएर कृषिका फ्याकल्टीहरु नै समेटिएको छ । पशु र कृषि दुई वटा छुट्टा छुट्टै छ । अहिले विद्यार्थीको अत्याधिक चाप भएकाले कृषिमा मात्रै पनि २ वटा ग्रुपमा अध्ययन भइरहेको छ । फार्मेसी र फरेस्टीको पनि निर्णय ल्याएका छौं । अर्काे सालबाट फरेस्टी विषयमा पनि अध्ययन गर्ने तयारीमा छौं ।

पढ्न जाँदा पनि काम गर्नुपर्ने कस्तो शिक्षालय ?
करिकुलमले तोकेको प्रयोगात्मक अभ्यास शतप्रतिशत गराउनुपर्छ र विद्यार्थीले काम गर्दै सिक्दै कमाउँदै तिर्दै अध्ययन गरुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइरहेका हौं । अहिले विद्यार्थीहरुलाई सीपसँग नजोडिकन ज्ञान हासिल गर्न नसकिने भएको हुनाले सिक, कमाउ र तिर भन्ने अवधारण अनुसार यहाँ शतप्रतिशत प्रयोगात्मक अभ्यास होस् भनेर माछा पालन, कुखुरा पालन, गाईभैसी पालन, बाख्रा पालन गरेर उत्पादनसम्म लान सुरु गरिरसकेका छौं । तरकारी खेती र पशुपालनबाट भएको आम्दानी छुट्टै राखेका छौं ।

धादिङ बहुप्राविधिक शिक्षालयमा आकर्षण बढ्नुको कारण के हो ?
साधारण शिक्षामा एउटा डिग्री हासिल गर्नेपर्ने भन्ने हाम्रो सोच थियो । अब चाही सीप सहितको शिक्षा चाहिन्छ भन्ने कुराको ज्ञान बढ्दैछ । धादिङ जिल्लाका १ सय ३२ वटै मावि स्कुलसँग समन्वय गर्नेवित्तिकै विद्यार्थीको सँख्या ह्वात्तै बढ्यो ।

शुल्क पनि देशकै सबैभन्दा सस्तोमा प्राविधिक शिक्षा दिइरहेका छौं । यसअघि वार्षिक १ लाख ६० हजार तिर्नुपर्नेमा अहिले ३ वर्षमा ६० हजार मात्रै तिरे पुग्छ । यो शुल्क भनेको कक्षा ११, १२ मा भन्दा सस्तो हो । सस्तोमा बहुप्राविधिक ज्ञान लिन सकिने भएपछि विद्यार्थीको आकर्षण बढेको छ ।

शिक्षालयप्रति अभिभावकको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
अभिभावकको अवस्थामा सुधार आउनु जरुरी छ । कलेजमा प्रयोगात्मक अभ्यासलाई जोड दिएको हुनाले ‘त्यहाँ त पढ्न पठाएका हौं काम गर्न पठाएका होइनौं’ भन्ने गर्नुभएको छ । पढाउने नाउमा काम लगायो भन्ने बुझाइ धेरै अभिभावकमा छ । तर, यो विषय नै यस्तो चिज हो जुन चिज नगरीकन जानिदैन । भनेको भरमा मात्रै जान्ने भए त एउटा किताब किनेर घरमै बसेर पढे भइहाल्यो । त्यसो हुनाले हामीले काम गर्नै पर्छ ।

कतिपय अभिभावकहरुले फिजिक्समा पनि फिल्डमा काम, केमिस्ट्रीमा पनि फिल्डमा काम भन्नुहुन्छ । काम गरेको कुरालाई ठूलो सानो मान्नु हँदैन । काम गरेर नै कन्फिडेन्स लेभल डेभलप गराउनु राम्रो हो । यो सबै एप्लाई साइन्स् हो । हामी इङ्लिसमा पनि धान खेती कसरी गर्ने भनेर एस्से लेख्न लगाउछौं ।

यसअघि टाइसुट र छालाको जुत्ता ड्रेस थियो । अहिले त्यो पनि परिवर्तन गरेका छौं । अहिले कृषि कै ड्रेसकोट अनुसार हरियो कुर्ता र कालो सुरुवाल र हरियो सर्ट र कालो पाइन्ट राखेका छौं । किनभने तत्काल फिल्डमा काम गर्नुपर्छ टाइसुट र छालाको जुत्ता लगाएर सम्भव हुँदैन ।

Loading...