धादिङ –
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो।
अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन। बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने।
शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।