Sat. Jul 5th, 2025

मन्त्रालयका सचिवलाई कर्मचारीको भब्य स्वागत

हेटौंडा– बागमती प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा नियुक्त भएर आएका डा. शरणकुमार पाण्डेलाई मन्त्रालयका कर्मचारीले भब्य स्वागत गरेका छन् ।

भदौ २९ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको सचिवमा सरुवा भएका पाण्डेलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका हुन् ।

७ महिना अघिसम्म भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमै योजना तथा अनुगमन महाशाखा प्रमुख भएर काम गरेका पाण्डे सहसचिवमा बढुवासँगै सरुवा भएर राष्ट्रिय पशु आहार तथा लाइफ स्टक गुण व्यवस्थापन प्रयोगशाला काठमाडौँ गएका थिए ।

सचिव पाण्डेले इमानदार र अनुशासित भएर काम गर्न कर्मचारीलाई अनुरोध गरे । ‘७ महिना अघिसम्म यही मन्त्रालयमै थिएँ, सचिवको रुपमा फेरि आउन पाएँ । म टिमवर्कमा विश्वास गर्छु’, उनले भने, ‘यहीँ रहेर १८ महिना बढी काम गरिसकेको छु यसकारण पनि काम गर्न थप सहज हुन्छ भन्ने लागेको छ ।’

कृषि क्षेत्रको रुपान्तरण र विकास मुख्य योजना रहेको भन्दै उनले आफू सचिव पदमा रहँदा कार्यसम्पादन र जिम्मेवारीमा समस्या पर्न नदिने दावी गरे । ‘म भएको भए यसो गर्थें भन्ने कुनै योजना छ भने नोट गर्नुस् । म साथ दिन तयार छु । सबै कर्मचारीले कार्यसम्पादनमा उत्कृष्ट हुने गरी काम गर्नुहोस्’, सचिव पाण्डेले भने, ‘कसैको पनि फायल रोक्ने काम नगरौँ । ‘हुन्छ’ वा ‘हुन्न’मा जवाफ दिने गरौं । हुने भए तत्काल काम गरौं, नहुने भए कारण बताइदिने गरौं ।’ रोकिएका ‘बिग प्रोजेक्ट’हरु तत्काल अघि बढाउने जानकारी दिँदै उनले आफू सहजीकरणका लागि आएकोले ‘हाकिम’ भनेर हिच्किचाहट नराख्न कर्मचारीलाई अनुरोध गरे ।

About The Author

अन्य समाचारहरु: