Wed. Oct 27th, 2021

कोरोना त्रास घट्दै धादिङ प्रशासनमा सेवाग्राहीको भीड बढ्दै

धादिङ– जिल्ला प्रशासन कार्यालय धादिङमा सेवाग्राहीको चाप बढेको छ । नागरिकता र राहदानी बनाउन आउनेको संख्या सबैभन्दा धेरै छ ।

कोरोनाका कारण हिडडुल गर्न सहज नहँुदा रोकिएका काम गर्न सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बडेको हो । कोरोना महामारीको त्रास घट्दै गर्दा अहिले अन्य कार्यालयमा भन्दा प्रशासन कार्यालयमा सेवाग्राहीको भीड दोब्बर छ ।

नयाँ नागरिकता लिन र नागरिकताको प्रतिलिपि बनाउन मात्रै दैनिक एक सय भन्दा बढी आउने गरेको जिल्ला प्रशासन कार्यालय धादिङका शाखा अधिकृत राममणि मिश्रले बताए । राहदानीको फारम बुझाउन आउने र काठमाण्डौबाट राहदानी बनाउन सिफारिस लिन आउनेको संख्या पनि दैनिक ५०÷६० जनाको हाराहारीमा रहेको मिश्रले जानकारी दिए ।

दैनिक दुई सय ५० जनाको हाराहारीमा विभिन्न सेवा लिन सेवाग्राही कार्यालय प्रवेश गर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विकट बस्ती र गाउँगाउँबाट सेवाग्राहीहरु गाडी नै रिजर्भ गरेर आउने गरेका छन् । ‘एकैचोटी धेरै सेवाग्राही आइपुग्दा थेग्नै हम्मेहम्मे हुने गर्दछ’ मिश्रले भने,‘एक दिनमा एक सय २० जनासम्मले नागरिकता बनाएका छन् ।’ प्रशासनबाट प्रवाह हुने अन्य सेवा लिन आउनेको संख्या पनि निकै बढेको उनले बताए ।

सरकारी सेवा प्रवेशका फारम भर्न र क्याम्पसहरुमा भर्ना गर्नका लागि नागरिकता बनाउन आएको सेवाग्राहीहरुले प्रतिक्रिया दिएका छन् । कोरोनाका कारण सरकारले जारी गरेको निशेधाज्ञामा अत्यावसेक बाहेक सेवा प्रभावित बनेको थियो ।

Loading...

अन्य समाचारहरु: