Sat. Jul 27th, 2024

तन्नाले छोपेर सडकमै आशाले शिशु जन्माइन्

शंकर श्रेष्ठ
धादिङ– अर्चलेकी आशा परियारलाई मध्यरातमा सुत्केरी व्यथा लाग्यो । विहान झिसमिसेमै अस्पताल हिँडिन् । उनले बैरेनी बजार पुगेपछि कुनै घरमा आड लाग्न समेत भ्याइनन् । सडकमै मुर्छित भइन् । त्यहि सडक छेउमै तन्ना ओछ्याएर छोरी जन्माइन् । उनी भन्छिन्, ‘ओराला चिप्लोे बाटो लड्दै घिस्रिदै सडकसम्म त पुगेँ, अस्पताल पुग्नै भ्याईन ।’

घटना मंगलबार विहान करिब ८ बजेको हो । उनको घर धादिङको सिद्दलेक गाउँपालिका–१, अर्चले नयाँबस्तीमा छ । उमेरले भर्खर १८ वर्ष पुगिन् । उनले एक किलो ४ सय ग्रामको शिशु जन्माएकी हुन् । गर्भ बसेको ७ महिना ४ दिनमा आशाले छोरी जन्माएको उनका श्रीमान जगत परियारले सुनाए ।

सोमबार साँझसम्म आशालाई प्रशव पीडाले छोएको पत्तै थिएन । ‘राती १२ बजेतिर बेस्सरी पेट दुख्यो भनेकी थिइन्, ४ बजेतिर तातो बनाएर पनि खाइन्’ जगत भन्छन्,‘विहान भएपछि हिड्दै डिह्दै एम्बुलेन्स् आउने ठाउँसम्म पुगियो तर, अस्पताल पुग्न सकिएन ।’

बर्खाको बेला आशाको गाउँसम्म एम्बुलेन्स् पुग्न सक्दैन । गाउँमा नजिक स्वास्थ्य चौकी पनि छैन । अर्काे वडामा भएको नलाङ स्वास्थ्य चौकी पुग्न २ घण्टा उकालो हिड्नु पर्छ । एक घण्टा ओरालो झर्दा धादिङबेसी मलेखु सडकमा पुगिन्छ ।

‘उकालो भन्दा ओरालो हिड्न सजिलो पनि हुन्छ, धादिङ अस्पताल नै पुग्न छिटो पनि हुन्छ भन्ने सोचेर आमाको सहयोगमा डोहो¥याउँदै पिच सडकसम्म झरियो । त्यहाँ आएपछि आशा मुर्छा पर्न थालिन, खुट्टा टेक्नै सकिनन्, पिँच सडककै कुनापट्टी आमाले तन्ना ओछ्याइदिनुभयो, आशाले त्यहिँ बच्चा जन्माइन्’ जगतले बेलिविस्तार लगाए ।

‘सडकमा झरिसकेपछि आशालाई अस्पताल पु¥याउन हतार गर्दागर्दै गाडी चढाउनै भ्याइएन’ बैरेनीका सुबास लम्साल भन्छन्,‘छट्पट्टिँदै थिइन्, ब्यथाले बेस्सरी चापिसकेको रहेछ, हामीले अस्पताल पु¥याउन भ्याएनौं ।’ सडक कुनामा नै तन्नाले छोपेर बच्चा जन्म दिएको सुवासले सुनाए ।

धादिङ अस्पतालमा सामान्य चेकजाँचपछि अहिले आमा र बच्चा दुबै जनालाई काठमाडौस्थित कान्ती बाल अस्पताल लगिएको छ । आमाको अवस्था सामान्य रहेको र बच्चामा केही समस्या भएकोले अस्पताल भर्ना गरिएको आशाका श्रीमान् जगतले बताए ।

गर्भवती आशा घरायसी काममा व्यस्त हुन्थिन् । उनका श्रीमान् जगत ग्रील उद्योगमा काम गर्छन् ।

टुप्लुक्क पुगिन् प्रतिमा
आशाले बच्चा जन्म दिएको केही मिनेटमै नलाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट प्रतिमा तिमिल्सना टुप्लुक्क त्यहीँ पुगिन् । त्यहीँका एकजनाले प्रतिमालाई हात तान्दै हतार हतार आशाले बच्चा जन्माएको ठाउँमा पु¥याए ।

‘एकछिन त अलमल्ल परेँ, के गर्ने कसो गर्ने भयो, स्थानीय दिदिबहिनीहरुको सहयोगमा सालनाल व्यवस्थापन गरेर बच्चा र आमालाई अस्पताल पठाएँ’ प्रतिमाले त्यहाँको पीडादायक दृष्य सुनाइन् ।
आशाले प्रतिमाले नै काम गर्ने नलाङ स्वास्थ्य चौकीमा गर्भ जाँच गराउँदै आएकी थिइन् । स्वास्थ्य चौकीले मंसिर ३ गतेको बच्चा जन्मिने मिति तोकिदिएको थियो ।

‘गर्भ जाँचको क्रममा आमा र बच्चा दुबैको अवस्था सामान्य थियो’ स्वास्थ्यकर्मी प्रतिमाले भनिन्,‘महिना नपुग्दै बच्चा जन्मिएको भएर थप चेकजाँचको लागि अस्पताल पठाएका छौं ।’

About The Author

Loading...

अन्य समाचारहरु: