
काठमाडौ –
असोज दोस्रो सातादेखि हल खुल्ने भएका छन् । नेपाली निर्माताहरुले दसैं लक्षित गरेर फिल्म प्रदर्शन गर्ने तयारी थालेसँगै हल खोल्ने तयारी भएको हो ।
यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्रका हल खोल्ने अनुमति दिएको थियो । तर हलहरुको छाता संगठन चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हल नखोल्ने निर्णय गरेको थियो ।
अब भने आफूहरु असोज दोस्रो साताबाट नेपालभरका हल खोल्ने तयारीमा पुगेको चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधान बताउँछन् ।
हामीले हल खोल्ने तयारी गरिरहेका छौं नै । पहिला पनि हामीले कोभिडको समयमा हल खोलेका थियौं । तर हलले फिल्म नै पाएन । तर यसपालि ढिला भए पनि तयारीका साथ खोलौं भन्ने हिसाबले छलफलहरु गरिरहेका छौं, प्रधानले भने ८/१० फिल्मको प्रदर्शन क्यालेन्डर बनाएरै फिल्म हल खोल्ने तयारी हो ।
अब फिल्म हलमा नभएर बन्द गर्नु नपरोस् भन्ने उद्देश्यले हामी अगाडि बढाइरहेका छौं । जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्रको हल खोल्ने अनुमति दियो । उपत्यकाभित्रका हल खोल्दा निर्माता फिल्म दिँदैन ।
त्यसैले अहिले सबै जिल्लाका सिडिओलाई पत्राचार गर्दैछौं । धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । यो असोज दोस्रो हप्ताभित्रमा हलहरु खुल्छ । हामी स्वास्थ्य मापदण्ड अपनाएर नै हल खोल्छौं ।
हालै निर्देशक सोभित बस्नेतले असोज २६ फूलपातीको दिनलाई लक्षित गरेर आफ्नो नयाँ फिल्म डाँडाको वर पिपलु प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । कोरोनाको त्रास घटेसँगै महामारीअघि नै प्रदर्शन रोकिएका फिल्महरुले प्रदर्शनको तयारी अगाडि बढाएका छन् ।