शंकर श्रेष्ठ, धादिङ ।
पैदल हिँड्दाहिड्दै शरीर लखतरान भएका छन् । पैतलाभरी परेका जल्जलाउँदा फोका हेरिसक्नु छैन । शरीरमा लगाएका कपडा धुलोमैलोले कालाम्मै बनेको छ । तैपनि हिड्न छोडेका छैनन् । घरेलु हिंसामा परेका पीडित महिलाको न्याय माग्न नेपालगञ्जबाट काठमाडौ हिँडेका पीडितका आफन्त र अधिकारकर्मीहरु अहिले पृथ्वीराजमार्गमा छन् । उनीहरु भन्छन्,‘जिल्ला र प्रदेश सरकारबाट न्याय पाएनौं, अब केन्द्र सरकारसँग न्याय माग्न काठमाडौ हिँडेका हौं ।’
नेपालगञ्जकी नन्कुन्नी धोवी र निर्मला कुर्मीको न्याय खोज्न काठमाडौ आएका हुन् । नेपालगञ्जबाट हिँडेको १८ दिनमा आज धादिङको गजुरी आइपुगेका छन् । महिला अधिकार मञ्च बाँकेका अधिकारकर्मीसहित पीडितका १४ जना आफन्तको सुत्ने खानेको कुनै ठेगान छैन । न घाम पानीको मतलब छ रात र दिनको । एकोहोरो हिँडिरहेकै छन् । ‘सडकमा हिँड्दा जहाँ सित्तल भेटिन्छ त्यही हाम्रो घर हो, त्यही निन्द्रा मेट्छौं’, नन्कुन्नीकी दिदि विटटा धोबी भन्छिन्,‘पैदल हिँडेको देखेर दया गर्नेहरुले दिएको खानेकुराले भोक मेटाउँदै आएका छौं ।’
यसरी पैदल हिँड्दै गर्दा मञ्चकी सदस्य रुवी खानलाई खुट्टाको जल्जलाउदा फोकाले भन्दा १२ वर्षअघि निर्मलाको पीडाले धेरै पोलेको छ । ‘२०६६ सालदेखि जाने बुझेकाजति सबै निकायका ढोकामा न्याय माग्दै कति पटक पुगियो गन्ती छैन, काठमाडौमा पनि हाम्रो न्यायको ढोका खुलेन भने हामी त्यही मर्छाैं फर्किदैनौं’ उनले कहानी सुनाइनन् ।
जानकी गाउँपालिका–२ की नन्कुन्नी धोबीको हत्या भएको घटनालाई प्रहरीले आत्महत्या बताएपछि माइती पक्ष र अधिकारकर्मीले संघर्ष छाडेका छैनन् । नन्कुन्नीलाई आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएको थियो । निर्मला कुर्मी अझै बेपत्ता नै छन् । पटकपटक यस घटनाको आवाज उठे पनि दोषीमाथि कारबाही भएको छैन ।