Sat. Jul 27th, 2024

कोरोनामा रेडियो र संचारकर्मीलाई समस्या नै समस्या, आम्दानी तहसनहस

शंकर श्रेष्ठ, धादिङ
बन्दाबन्दी सुरु भयो । बजार एक्कासी बन्द भए । बिज्ञापन सबै रोकियो । बन्दाबन्दी सुरु भएको एक हप्ता त अब रेडियो नै चलाउन सकिदैन जस्तो सबैलाई लाग्थ्यो । सदरमुकाम धादिङबेसीबाट प्रशारण हुँदै आएको रेडियो विहानीका स्टेशन मेनेजर सञ्जय देवकोटा भन्छन्,‘रेडियो त जसोतसो चलायौं, लोकल मार्केट अझै समस्याग्रस्थ नै छ ।’

लकडाउनकै बीचमा रेडियोको भवनमै आगलामी भयो । २ दिन प्रसारण नै बन्द भयो । ‘३ महिनासम्म तलब रोकियो । कर्मचारी नै कटौती गर्नु पर्ने स्थिति आयो । खर्च धान्न नसकेकै कारण कार्यक्रम रोकेर कर्मचारी बिदा गर्नु प¥यो’ देवकोटाले कोरोना महामारीमा रेडियोले भोगेका दुःख सुनाए ।

कोरोना महामारीपछि हालसम्म पनि शुन्य आम्दानी मै रेडियो चलाउनु परेको कृषि रेडियोका उपेन्द्र अधिकारीले पीडा सुनाए । ‘विज्ञापन बजिरहेका व्यवसाय सबै बन्द भए, लोकल आम्दानी गर्नै सकिएन, बन्दाबन्दीका कारण रोकिएको पारिश्रमिक अझै चुक्ता गर्न सकिएको छैन’ अधिकारीले भने ।

रेडियोको सबै श्रोत बन्द भयो, खर्च बढ्यो । घरमै बसेर मोबाईलबाट रेकर्ड गरेर कार्यक्रम चलाइयो । भन्छन्, ‘आम मानिसलाई सुसूचित गराउन छोडेनौं र जनतालाई सूचनाबाट बन्चित गराएनौं ।’ उदारोमा रेडियो थेग्नु परेको उनले अनुभव सुनाए ।

रेडियो राजमार्गका स्टेशन मेनेजर आशिस ठकुरीसँग रेडियो प्रशारण गर्ने मुख्य कम्प्युटर नै बिग्रिदा भिडियोकल मार्फत कम्प्युटर मर्मत गर्नुपरेको नमिठो अनुभव छ । ‘एजेन्सीहरुबाट आउने बिज्ञापन रोकियो । स्पोन्सर कार्यक्रम पनि सबै रोकिए । कर्मचारीलाई पूरा तलब दिन सकिएन । ठकुलीले भने,‘ सातामा एउटा, दिनमा एउटा कार्यक्रम गर्नेहरु नियमित आउन सकेनन् । अझै केही कार्यक्रम नियमित गर्न सकिएको छैन ।’

रेडियो धादिङले त झनै महामारी सुरु भएदेखि नै नीजि व्यवसायका विज्ञापन बजाउनै छोड्यो । पैसा आउने भएपनि आम मानिस संकटमा परेको बेला यस्ता विज्ञापन बन्द गराएर स्वास्थ्य चेतनाकै सूचना मात्र बजाएको स्टेशन मेनेजर राजाराम शर्माले बताए ।

उसो त महामारीमा रेडियोले कष्ट नभोगेको भने होइन । मासिक रुपमा पारिश्रमिक दिन नसकेपनि ब्यक्तिगत ब्याजमा ऋण लिएर कोठा भाडामा बस्ने पत्रकार कर्मचारीहरुका खाने बस्ने ब्यवस्था गरिएको शर्माले यथार्थ सुनाए । ‘९ महिनासम्म पारिश्रमिक दिन सकिएन, तर पनि मेरा पत्रकार कर्मचारीले साथ छोडेनन्, घरमै बसेर अडियो सामाग्री बनाएर स्टेशनमा पठाएर पनि काम गरिरहनुभयो’ शर्माले रेडियोमा कार्यरत पत्रकारको तारिफ नै गर्न भ्याए ।

चितवनबाट प्रशारण हुँदै आएको इच्छाकामना एफएमले पनि कोरोनाको बीचमा अनेकन समस्या झेल्नु प¥यो । एक्कासी सुरु भएको बन्दाबन्दीले कर्मचारी थप्ने प्रक्रिया त बन्द भयो नै । पहिलेदेखि काम गरिरहेका पत्रकार पनि घररायसी समस्याले रेडियो उपस्थित हुन नसक्दा एक जनाले रेडियो खोल्नेदेखि बन्द गर्नेसम्मको काम भ्याउनु परेको स्टेशन मेनेजर दानबहादुर गुरुङले बताए ।

नियमित पारिश्रमिक दिन नसक्नुको पीडा त झदै थियो । टेक्निसियनदेखि समाचार लेख्ने पढ्नेसम्मको काम गरेको पत्रकार हिरालाल गुरुङको अनुभव भुल्नै नसकिने छ । ‘प्रत्येक्ष व्यवस्थापन टिमसँग बसेर काम गरिरहेको थिएँ, रेडियोको आम्दानी नदेखेकोले माग्न पनि सकिनँ, सुरुदेखि नै काम गरेकोले पैसा नपाएपनि रेडियोको मायाले काम गरिरहेँ’ उनले पीडा सुनाए ।

पत्रकारको पीडा झन चर्काे
कर्मचारी पत्रकार पनि त्यत्तिकै आत्तिएका थिए । अब जागिर बन्द हुने भयो, के गर्ने होला भन्ने चिन्ता हुन्थ्यो । रोगले नै मरिन्छ भन्ने पनि लाग्यो । बन्दाबन्दी सुरु हुनुभन्दा केही दिनअघि मात्रै रेडियो धादिङमा काम थालेका विकल चेपाङ ८ महिनापछि बल्ल परिवार भेट्न घर फर्किए । ‘कोरोना कोबाट कस्लाई सर्छ पत्तै नहुने रहेछ, म नै संक्रमित रहेछु भने मेरा बुढी आमालाई पनि सर्न सक्छ भन्ने डरले रेडियोबाट छुट्टी पाएपनि आमा भेट्न गइन’ चेपाङले त्यतिबेलाको त्रास प्रष्ट सुनाए ।

हाल रेडियो विहानीमा कार्यरत पत्रकार सुस्मिता श्रेष्ठलाई त झन आफ्नो संचार गृहले कोरोनाभरीका लागि भन्दै पारिश्रमिक नपाउनेगरी छुट्टी दिएर घर पठायो । ‘बोलाउछु भनेको थियो, बोलाएन’, श्रेष्ठ भन्छिन्–‘पछि अन्तै काम सुरु गरिसकेको थिएँ, गइन ।’

सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क)सङ्गको सहकार्यमा रेडियो धादिङले सामुदायिक रेडियोमा कोरोना महामारीको प्रभावको विषयमा धादिङबेसीमा आयोजना गरेको कार्यक्रममा रेडियोका स्टेशन मेनेजर र पत्रकारहरुले आफ्नो प्रस्तुति सुनाएका थिए । कार्यक्रममा सहभागी रेडियोको व्यवस्थापकीय जिम्मेवारीमा रहेका पत्रकार र रेडियोमा कार्यरत कर्मचारीहरुले कोरोना महामारीको बेला आफुले भोग्नु परेका समस्या र समाधान गरिएका उपायहरुको बारेमा बताएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: