
बाढीपहिरोले सुदूरपश्चिम प्रदेशभित्र १५ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै डोटीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। बझाङसहित विभिन्न जिल्लामा २८ जना बेपत्ता छन्। उनीहरू बाढी र पहिरोमा परेर बेपत्ता भएका हुन्। उनीहरूको उद्धार गर्न स्थानीयले माग गरेका छन्।
बझाङमा पहिरोमा परेर बेपत्ता भएका २३ जनाको उद्धार हुन सकेको छैन। मंगलबार दिउँसो थलारा गाउँपालिका–४ डिख्लामा गाउँमाथि पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए।
घटनास्थलमा इलाका प्रहरी चौकी झोताबाट प्रहरीको टोली बुधबार बिहान घटनास्थल गएका छन्। बेपत्ताहरूको खोजी कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
तल्लो डेख्लाका २३ जनासँगै ७ वटा घर, पशुचौपाय पुरिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बेपत्ता भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको बताइन्।
फसेकाहरुको उद्दारको लागि नेपाली सेना घटना स्थल पुगेको छ ।