Mon. Oct 14th, 2024

भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्ती १५ दिनभित्र सारिने

फाइल फोटो
फाइल फोटो

काठमाडौं – सरकारले भूकम्पप्रभावित जिल्लाका उच्च जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतमको संयोजकत्वको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो समितिलाई भूकम्प प्रभावित १८ जिल्लाका ३० स्थानमा बस्ती स्थानान्तरणको काम गर्ने जिम्मेवारी तोकेको सहरी विकास मन्त्री डा नारायण खड्काले बताए ।

भूगर्भविद् र निर्वाचित सभासद्को संयुक्त टोलीले स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदनका आधारमा भूकम्प प्रभावित जिल्लाका जोखिमयुक्त बस्तीको पहिचान गरी स्थानान्तरण गर्न सुझाव दिएको थियो ।

सरकारले यसअघि वर्षायामलाई ध्यानमा राखी भूकम्पपीडित क्षेत्रका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्न गृह, सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । रासस

About The Author

अन्य समाचारहरु: