Sat. Jul 27th, 2024

आज विश्व एड्स दिवस मनाइँदै, धादिङमा १२१ जना संक्रमित

धादिङ– आज ३४ औं विश्व एड्स दिवस धादिङसहित नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्ष ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नारासहित धादिङ अस्पताल प्राङ्गणमा आज बेलुका दीप प्रज्वलन गर्ने कार्यक्रम छ । संक्रमितहरुलाई रेडक्रस धादिङले आज दिउसो जाडोको कपडा वितरण गर्दैछ ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलका अनुसार धादिङमा १ सय २१ जनाले औषधि सेवन गरिरहेका छन् ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । धेरैजसो  महिला यौनकर्मी, तेस्रोलिङ्गी, सिरिन्ज प्रयोग गर्ने व्यक्ति र काम गर्न भारत गएर फर्किएकाहरुलाई संक्रमण देखिने गरेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ । अहिले नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् । सन् २०२० मा नयाँ सङ्क्रमित ७ सय ५४ जना रहेका छन् ।

सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ । दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: