
धादिङ–
धादिङबेसी स्थित पशुपति मन्दिरमा विहिबार साँझ जात्रा लाग्दैछ । बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् ।
पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा बसेर बत्ति बाल्दै भजनकृतन गर्ने र विहान ४ बजेपछि सतविज छर्ने चलन रहिआएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद लम्सालले जानकारी दिए । रातभर बालेको बत्ति र फुलअछेता नजिकैको खोलामा स्नान गरेर सेलाउने चलन छ ।
गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिज छर्ने चलन छ । मनोकामना पुरा होस् भनेर घरमै पुजा लगाएर फुलको डोली पनि लैजाने चलन छ । फुलको डोली ल्याउने भक्तजनहरुले नीलकण्ठ–१२ मा रहेको मन्दिर परिसरबार नीलकण्ठ–३ को पिपलबोटमा फुलको तोरन तार्ने प्रचलन रहेको स्थानीय कृष्ण शिशिरले बताए ।
विहिबार साँझदेखि लाग्ने पशुपतिनाथको जात्रालाई औसी जात्रा पनि भनिन्छ । पचास वर्ष भन्दा अघिदेखि लाग्दै आएको जात्रा हेर्न धादिङ आसपासका जिल्लाहरुबाट पनि भक्तजनहरु मन्दिर परिसरमा आउने गर्दछन् ।
सतविज भन्नाले सात प्रकारको अन्नहरु जस्तै (धान, गहुँ, मास, मुगी, कागुन र सामा) मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ ।