Sat. Jul 27th, 2024

देवीको मुर्ति छुन र हेर्नै नपाइने धादिङको अनौठो पुजापाठ

शंकर श्रेष्ठ
सल्यानकोट (धादिङ)–
कुनैपनि मन्दिरमा पुजारी हुन्छ, भक्तजन जान्छन्, दर्शन गर्छन्, पुजा गर्छन् अनि मुर्ति छोएर पाउ पर्छन् । तर, धादिङको त्रिपूरासुन्दरी गाउँपालिकास्थित सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवतीमाईको मूर्तिलाई न हेर्न पाउँछन् न छुन नै पाउँछन् । मन्दिरमा रहेको भगवती माईलाई भक्तजन त के पुजारीले समेत हेर्न पाउँदैनन् । दर्शन गर्न पुगेका भक्तजनहरुले परैबाट पुजा गर्नुपर्ने प्रचलन छ ।

एउटा बाकसभित्र भगवतीको देवीको प्रतिक छ भनिन्छ । तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो हेर्न पाउँछन् । पुजा गर्ने पुजारीले भने पुजाको दिन लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पु¥याउँछन् ।

धादिङको त्रिपुरासुन्दरी भगवतीमाईको यो जात्रा नेपालकै अनौठो र रोचक छ । अझै नौलो कुरा त यहाँको देवीको प्रतिकलाई एक वर्षमा ३ ठाउँ सारिन्छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । मंसिरदेखि चैत्रसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने स्थानीय पुरोहित अर्जुन सापकोटाले जानकारी दिए ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा बिताउनुपर्ने, दशैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकोले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईलाई तुलना गरिएको पुरोहित सापकोटाले जानकारी दिए ।
परम्परा अनुसार आइतबार रातभर गाउँको मन्दिरमा पुजापाठ गरेर सोमबार विहान तामझामका साथ भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा सारिएको छ ।

यसरी बेसी झर्दा अर्थात भगवती माइत आउँदा सयौं भक्तजनहरुले बाटोको दायाँवायाँ बसेर पुजापाठ र अविर जात्रा गरेका छन् । हरेक वर्षको मंसिर महिनामा उत्तम साइत हेरेर यो जात्रा मनाइने पुरोहित सापकोटाले बताए ।


सोमबार बिहानै पुजारीहरुले भगवतीको मूर्तिलाई गाउँको मन्दिरबाट बेसीको मन्दिर झारेका हुन् । भगवतीलाई माइत ल्याउँदा भक्तजनहरुले हातमा नाङगो खुडा, खुकुरी र तरबार बोक्छन् । दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले हाते साङ्लोको घेरा बनाउँछन् । त्यही घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति पुजारीले बोकेका हुन्छन् । त्यही हो त्रिपुरासुन्दरी भगवती माई ।

त्रिपुरासुन्दरी भगवतीको मुर्तीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ । मंसिर महिनामा देबीलाई तामझामका साथ माईत सारिने गरिन्छ । त्यसपछि फागुनको अन्तिमतिर वा चैते दशैँ भन्दा अगाडि विशेष साईत हेरेर फेरि कोटकै मुल मन्दिरमा लगेर भित्राउने प्रचलन रहिआएको छ । देवीलाई कोटमा लैजाने क्रममा पनि सोही प्रक्रियाद्धारा लैजाने गरिएको छ । देवीलाई घर फिर्ता गराउने समयमा भने कम मात्रामा भक्तजनको उपस्थिति हुने गरेको पाईन्छ ।

पृथ्वीनारायण शाहले नुवाकोट एकिकरण गर्न आउँदा यही भगवतीको पूजाआजा गरि नुवाकोट विजयको कामना गर्दै आशिष मागेको र त्यहीबेलादेखि शाहवंशको कुलदेवताको रुपमा मान्दै आएको किवदन्ती छ । हरेक वर्ष मंसिर महिनाको विशेष तिथिमा भगवतीको मेला लाग्ने गर्दछन् । भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टिकाको दिन हेर्ने र तिहारको भाईटिकाको दिन त्यसलाई सार्वज्निक गर्ने चलन छ ।

भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लोदिन र रातभर गाउँको मन्दिरमा र बेसीको मन्दिरमा ल्याएपछिको दुई दिन भव्य मेला लाग्छ । भक्तजनहरुले आफ्नो मनोकांक्षा सिद्धि गराउन जात्राको दिन फुलको डोली ल्याउने गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: