Sat. Jul 27th, 2024

धादिङका १ हजार ६ सय ४२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

dhdiang earthequal jhokim basti 1
धादिङ – धादिङ जिल्लाका भूकम्प प्रभावित १ हजार ६ सय ४२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने भएको छ । भूकम्पले घरसँगै पहिरो गएपछि बस्ती नै जोखिममा परेका घरधुरीहरुलाई सुरक्षित स्थानमा सारिने भएको हो । गत सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालय समेतको सहमति र अनुमतिमा सहरी विकास मन्त्रालयले तयार गरेको पीडित घरधुरी र बस्ती सार्ने सम्बन्धमा निर्णय गरेको हो ।

उत्तरी धादिङको रि गाँउ विकास समितिको वडा नं ५ को रिचेत र गाम्राङ टादका १ सय १६ घरधुरी, वडा नं ९ को अन्दर, कराङ र चेप्राङका बस्तीलाई सदरमुकामपारिको सांकोषमा रहेको दामगाडे गाँउको निजी जग्गामा सारिन लागेको हो । रिचेतकै थप ६० धरधुरीलाई सोही गाविसको कच्यातमा सार्ने, रीको वडा नं ७ ताजिमम्राङ गाँउका घरधुरीलाई री गाविसकै वाङचेत, ङलुङ, यामुच्यात, भरच्यात र गोसाङमा सारिनेछ । त्यस ठाँउमा अहिले पनि उत्तरी धादिङका रि, लापा, झार्लाङ लगायतका गाविसका भूकम्प प्रभावितहरु अस्थायी टहरा निर्माण गरेर बस्दै आइरहेका छन् ।

त्यस्तै लापा गाँउ विकास समितको वडा नं १, ३, ६ र ७ का कपुरगाँउ, झाँक्रीटोल, लामाटोल, कुप्चेत, रिचेत, नेवारको आधा बस्ती, तायुङ र भ्रमताङका १५९ घर परिवारलाई संकाषको कुुमालगाँउको निजी जग्गामा सारिनेछ ।
लापाकै वडा नं २ छम्राङ, चपाङचेत, तिङचेत, तेन्चेत र कप्चेतका १०३ परिवारलाई सांकोष गाविसको धन्सार पाखाको निजी जग्गामा, लापा २ कै चपाङचेत र छुम्रुङका थप ३८ परिवारलाई सोही गाँउको देजोङ डाँडामा सारिने भएको छ । सोही वडाको कच्चेत र तेन्चेतको आधाबस्तीका ५२ परिवारलाई लापाकै खोर्सानीच्यातमा र वडा नं ३ नेवारको आधाबस्तीका २९ परिवारलाई लापा गाँउकै पोर्कोडाँडामा लगिनेछ ।

dhading earthequal jhokim basti 2

त्यसैगरी तिप्लिङ गाविसको वडा नं १ र ८ का सिम्पले, कामी गाँउ र दुर्पाङका २७ घरधुरी सोही गाँउको स्वास्थ्य चौकी आसपासको खाली जमिनमा, सेर्तुुङ ८ को खर्चगाँउका १ सय २५ घर र वडा नं ९ को हिन्दुङका ९४ घरलाई सोही गाविसको भोर्लेखर्कमा, झार्लाङ गाविसको वडा नं ८ मा पर्ने क्युुङ, थलो कन्द्रराङ, गोरगाङ, च्यामथली र छापचेतका १ घरलाई सोही गाविसको गर्जो गाँउमा सारिदैँ छ ।

भूकम्प प्रभावित दार्खा गाँउ विकास समितिको वडा नं ८ धार्ना, सत्यदेवी गाविसको वडा नं ४, ५, ६ र ७ तथा गुम्दीको वडा नं ३ मा पर्ने तल्लो मम्मई र वर्दान तथा वडा नं ५ को अम्मोटेका पीडित परिवारलाई सार्ने स्थानबारे सरकारले टुंगो गरेको छैन । तर अन्य बस्ती सार्दा दार्खा र सत्यदेवी गाँउका पीडितलाई पनि जिल्ला दैवीप्रकोप उद्धार समितिले स्थान निर्धारण गरी सार्ने निर्देशन सरकारले दिएको छ । धादिङकै फुलखर्क गाविसको वडा नं ९ मजुवासेसीका १५ परिवार, बसेरी गाविस वडा नं १ को दलित बस्तीका ५२ परिवार तथा वडा नं २ को ठूलो मंसिरे र वडा नं ७ को राईगाँउका पीडितको जिम्मा पनि स्थानीय दैवीप्रकोप उद्धार समितिलाई दिएको छ ।

त्यसैगरी सल्यानटार गाँउ विकास समितिको वडा नं ८ र ९का घर, मार्पाक गाविसको वडा नं ३ का लिमिडाँडा, पोल्चेत, बल्लो थला, बेंसीटोल अर्चले, वडा नं ७ को केराबारी, बोराङका पीडितलाई नयाँ बस्तीमा सार्ने निर्णय गरे पनि ठाँउ खोज्ने जिम्मा स्थानीय समितिलाई नै दिएको छ । तर गोगनपानी गाविसको तीनघरे गाँउ, जोगीमारा गाविस भर्पाङका पीडितलाई सोही गाविसको वडा नं ७ ठिङमाङ वरपर र महादेवस्थानको लाइपुरखर्कका बासिन्दालाई सोही गाविसको भवनको आसपास क्षेत्रमा सार्ने निर्णय गरिएको छ ।

सरकारले धादिङ सहित, गोरखाबाट २ हजार ८२ घर, ललितपुरबाट ६७ घर, लमजुङबाट ५१, ओखलढुंगाका १ सय ३, सिन्धुलीका ८ सय ५, सोलुखुम्बुका १ हजार ७ सय ३६, रामेछापका ५ हजार ५ सय ४८ र मकवानपुरका १ हजार २ सय ३८ सहित दोलखा, काठमाडौं, काभ्रे, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका जोखिपूर्ण स्थानका घर सार्ने निर्णय गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: