Wed. May 14th, 2025

विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल

काठमाडौंः यतिवेला विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डुको ७० औँ संस्करण पोर्टो रिकोको राजधानी सान जुवानमा भइरहेको छ।

बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो।

कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड आयोजना हुन सकेको थिएन। त्यसअघि सन् २०१९ मा बेलायतको लन्डनमा आयोजित प्रतियोगितामा १ सय ११ देशले प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।

यो वर्ष ९७ देशले सहभागिता जनाएकोमा नेपाल उत्कृष्ट ३० मा पर्न सफल भएको छ।

हेड टु हेड राउन्डको विजेता हुँदै नेपाललाई प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी हुन्।

सन् १९९७ देखि नियमित रुपमा मिस वर्ल्डमा भाग लिँदै आएको नेपालले अहिलेसम्म मिस वर्ल्डको उपाधि जित्न भने सकेको छैन। तर, पछिल्ला ५ वर्षयता नेपालले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ।

सन् २०१७ मा मिस वर्ल्डमा भाग लिन गएकी मिस नेपाल निकिता चण्डक उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन्।

त्यसबाहेक उनी टप मोडल, ब्युटी विद अ पर्पस, पिपुल्स च्वाइस अवार्डलगायत विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन्। जुन नेपालका लागि ऐतिहासिक सफलता मानिएको थियो।

त्यसपछि सन् २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी शृंखला खतिवडाले ब्युटी विद अ पर्पस र मल्टिमिडिया अवार्ड गरी नेपाललाई महत्वपूर्ण दुई अवार्ड दिलाएकी थिइन्।

त्यसअघि नेपालका लागि सन् २०१३ मा इशानी श्रेष्ठले पहिलो पटक ब्युटी विद अ पर्पस अवार्ड जितेकी थिइन्। तर, एकै पटक दुई वटा अवार्ड भने नेपाल भित्रिएको थिएन।

About The Author

अन्य समाचारहरु: