
काठमाडौ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित ‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८ मा जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गरेका छन्।
त्यस्तै प्रतियोगितामा गामबेसी दोहोरी साँझका प्रतियोगी शान्ता वली र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरे। प्रतियोगितामा क्विन रोधी घरका प्रतियोगीहरू हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीसँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समूहले तेस्रो स्थान हासिल गरेका थिए।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद २ लाख २५ हजार, प्रमाणपत्र, मेडल र सिल्ड, दोस्रो स्थान हासिल गर्नेलाई नगद १ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेस्रो स्थान हासिल गर्नेलाई नगद १ लाख, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टिमलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहको रूपमा छनोटमा परेको थियो। त्यस्तै अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परेको थियो। नवोदित गायिकाका रूपमा दिलमाया बिक र नवोदित गायकका रूपमा किशान विक पुरस्कृत भएका छन्। उनीहरू सबैलाई पाँच हजारका दरले पुरस्कृत गरिएको छ।
उत्कृष्ट गायक गायिकातर्फ गण्डकी प्रदेशका प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साँझकी प्रतियोगी पुजा पुनले हात पारेका थिए। उत्कृष्ट गायक, गायिकालाई सात सात हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
त्यसैगरी प्रतियोगीहरूमध्ये सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसला स्वरूप ७ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो। प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रूपमा रहेको भन्दै ५ हजार नगद पुरस्कारसहित राजु लामिछाने सम्मानित भएका छन्।