Sat. Jul 27th, 2024

नेपालमै पहिलो पटक जुनारको बिमा

रामेछाप — असिना आओस् कि ठूलो हावाहुरी । अब रामेछाप ओख्रेनीका शेरबहादुर तामाङलाई जुनारका दाना खस्लान् वा नष्ट होलान् भन्ने पिरलो टरेको छ । बिहीबार उनले आफ्ना बगैंचाका २ सय ३५ बोट जुनारको बिमा गराएका छन् ।

जुनारको बिमा गराइएको नेपालमा यो नै पहिलो हो ।
‘गत साल असिनाले दाना झार्ने र बोटमै अडिएकामा पनि घाउ लाग्दा लाखौं क्षति ब्यहोरेको थिएँ’ तामाङले भने । आजभोलि जुनारमा भर्खर दाना लाग्न थालेको छ ।

‘हावाहुरी र असिनाको सिजन भएकाले जुनारका चिचिला जोगाउने चिन्ता थियो’ तामाङ भन्छन् । बिमा गरेपछि अब क्षति भए पनि किसानलाई मार पर्दैन । जिल्लामा पहिलो पटक रामेछाप नगरपालिका– ६ ओख्रेनीमा ३ जना किसानको बगैंचाका जुनारको बिमा गरिएको हो ।

जुनारको पीसीआर परीक्षण गराउँदा रोग किरा नभेटेपछि आईएमई जनरल इन्स्योरेन्सले किसानको बगैंचाको बिमा गरेको हो । किसानको जुनारको बिमा गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आर्थिक सहयोग गरेको छ ।

तामाङ ओख्रेनीकै अगुवा जुनार किसान हुन् । अब उनको बगैंचामा रहेका जुनारमा २५ प्रतिशत भन्दा बढी दाना प्राकृतिक प्रकोपका कारण क्षति भएमा बिमा कम्पनीले क्षतिपूर्ति ब्यहोर्नेछ । हावा हुरी, चट्याङ आगलागी, असिना लगायतले क्षति भएको अवस्थामा ३ लाखसम्म भुक्तानी पाउनेगरी बिमा गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । त्यसका लागि किसानले जम्मा ३ हजार रुपैयाँ तिर्नुपरेको छ । दानाका अतिरिक्त बगैंचामा काम गर्दा किसानको मृत्यु भएमा थप २ लाखको बीमा पाउने गरी सम्झौता भएको गैह्रेले बताए ।

रामेछाप नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको जुनार जोन परियोजनाले सघाउँदै आएको छ । करिब ७ सय हेक्टर जमिनमा रहेको जुनार बालीको लागि परियोजनाले सिँचाइ पूर्वाधार, क्षेत्रफल विस्तारका लागि बिरुवा वितरण, रोग किरा नियन्त्रण, आधुनिक नर्सरी, प्याकेजिङ, बजारीकरण लगायतमा सघाउँदै आएको छ ।

‘यो वर्ष हामीले हरेक बगैँचाको हरेक जुनार बोटमा पुग्ने अभियान संचालन गरेका छौं’ गैह्रेले भने । त्यसअन्तर्गत कर्मचारीले हरेक किसानको बगैंचामा गोडमेल, रोगकिरा नियन्त्रण र बगैंचा व्यवस्थापनको काममा किसानलाई सघाउनेछन् । गुणस्तरीय जुनार उत्पादन गर्ने उद्देश्यले जिल्लाको रामेछाप र मन्थली नगरपालिकामा जुनार जोन परियोजना संचालनमा छ । रामेछापमा प्रति हेक्टर १३ मेक्ट्रिक टन जुनार उत्पादन हुने तथ्याङ्क छ ।

कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र बाख्रा जोनको क्षेत्रमा पनि काम गर्दै आएको छ । मध्यपहाडी क्षेत्रमा पर्ने रामेछाप र सिन्धुली जिल्लामा जुनारको व्यवसायिक खेती हुँदै आएको छ । सडक सुविधा नहुँदा बजार नपाएको जुनार पछिल्ला वर्षहरुमा उच्च भाउका साथ बजारमा आउन थालेको छ । रामेछापका किसानले प्रतिकेजी ८० रुपैयाँसम्म जुनारबाट मूल्य पाएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: