Fri. Mar 29th, 2024

असारदेखि मतदाता नामावली संकलन

काठमाडौँ — निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनअघि मंसिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली संकलन गर्न लागेको हो ।

मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए । ०७४ मा पनि स्थानीयको निर्वाचन भएपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन गरिएको थियो ।

निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि नै नामावली संकलन गर्न लागेको हो । आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साता निर्वाचन घोषणा गर्नुपर्ने सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ सम्म मात्रै हुने आयोगको ठहर छ । प्रतिनिधिसभाको निर्वाचन ०७४ मंसिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो । आयोगले मतपरिणाम आएको दिनदेखि ५ वर्षे कार्यकाल सुरु भएको मानेर यसअघि वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराइसकेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: