धादिङ – असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ ।
सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । धान दिवस मनाउँदा किसानहरु बिच कृषि क्षेत्रमा टिकिरहन थप हौसला मिल्ने विश्वास गरिएको छ । कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ ।
नेपालमा करीव १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्क छ ।