Sat. Jul 27th, 2024

जंगली बँदेलले केवलपुरका किसानको मकै बाली सखाप

धादिङ– धादिङको थाक्रे गाउँपालिका–१० मा जंगली बँदेलले आतंक नै मच्चाएको छ । बँदेल धपाउँदैमा किसानको समय वित्ने गरेको छ ।

यो वर्ष थाक्रे–१० का करिब ५० परिवार किसानको मकै बाली बँदेलले नष्ट गरिसकेको छ । धेरैजसो पौडेलथोक, गोरी चौर, देवल, चिउरीपाटी, गैरीटोलका किसानको मकैमा बँदेलले क्षति पुर्‍याएको छ ।

बँदेलका बथानले दिउँसो भन्दा रातीको समयमा बढी क्षति गर्दै आएको किसानहरुले बताएका छन् । दिउँसोको समयमा गाउँलेहरुले मिलेर ढुंगामुढा गर्छन् । तर रातको समयमा कताबाट छिर्छ पत्तै नहुने र एकै रातमा दुई/तीन रोपनी लगाएको मकै नष्ट गरिदिने केवलपुरका किसान रामजी पौडेलले बताए ।

एकैदिन ३/४ ठाउँमा मकै नष्ट गर्ने गरेकोले पनि बँदेलको बथान ठूलै भएको किसानहरुले अनुमान लगाएका छन् । केवलपुरका किसान पौडेल भन्छन्–‘लखेट्न जाँदा मान्छेलाई आक्रमण गर्ने हो की भन्ने त्रासले नजिक पुग्नै सकिदैन ।’

बँदेलबाट बाली जोगाउन स्थानीय किसानहरुले अनेकन उपाय अपनाएका छन् । कसैले बारीमा ठूलो आवाजले स्पीकर बजाएर छोड्छन् त कसैले थोत्रा कपडाहरु बेरे मान्छेजस्तै पुत्ला बनाएर ठाउँ ठाउँमा राखेका छन् । केही किसानले त मकै बारीमै छाप्रो हालेर पनि बसेका छन् ।

केवलपुरका कृषकहरुको मुख्य आयश्रोत मकै बाली हो । बँदेलले आतंक मच्चाएको यो गाउँ पृथ्वी राजमार्गको धार्केबाट करिब ९ किलोमिटरको दुरीमा छ । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि लडिबुडि खेल्ने, खाल्डो बनाउने गरेर बाली तहसनहस नै पारेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: