
धादिङ– पानीसँगै घरमाथीबाट झरेको पहिरोले नीलकण्ठ नगरपालिका-४ बेसारेमा एक महिलाको मृत्यु भएको छ ।
२४ वर्षीय शर्मिला राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिए । शर्मिला जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ३ मा रहेको खड्गदेबी आधारभूत विद्यालयका प्रधानाध्यपक हुन् ।
बाढिपहिरोले जिल्लाको विभिन्न ठाउँमा क्षती पुर्याएको छ । पहिरोले नीलकण्ठ नगरपालिका वडा नं ३ र ४ मा गरी ३९ घर जोखिममा परेको छ ।
नीलकण्ठ ४ की भगवती न्यौपानेको ७ वटा बुङगुर बगाएको छ । धादिङबेसीस्थितको अरुण खोलामा बाढी आउँदा खोला मिचेर बनाइएका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ ।
नीलकण्ठ ४ स्थित अरुणखोला किनारा छेउको टंकेश्वर इन्टरप्राइजेजको जस्तापाता, ड्रम, रड बगाउदा १ करोड १९ लाख नोक्सान गरेको छ । बाढीले नीलकण्ठ ३ सिरानबजारमा कृष्ण श्रेष्ठले संचालन गर्दै आइरहेको भगवती फर्निचर उद्योग बगाएको छ ।