Sat. Jul 27th, 2024

धादिङमा खस्किदै विद्यार्थीको सिकाइ स्तर

धादिङ – धादिङमा २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसर्ईईको नतिजा खस्केको छ । कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक नजिताअनुसार २०७५ देखि नै एसईईको नतिजा कमजोर बन्दै गएको देखिन्छ ।

कोरोना कहरले बालबालिकाको सिकाइ प्रभावकारी नभएको र ग्रामीण भुभागका विद्यालयमा अनलाइन कक्षासमेत प्रभावकारी नभएका कारण नतिजा खस्केको हो ।

२०७८ मा पनि कोरोनाका कारण तीन महिना मात्र भौतिक उपस्थितिमा कक्षा चल्यो । दूरदराजमा अनलाइन कक्षा प्रभावकारी भएन । पाठ्यक्रमअनुसार अध्ययन पूरा भएन । विद्यार्थीले प्रशस्त अभ्यास गर्न पाएनन् । त्यसैले पनि नतिजा कमजोर आएको हो ।

धादिङमा राम्रो ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको संख्या घट्दै गएको छ । कमजोर सिकाइ स्तर भएका विद्यार्थीको संख्या तुलनात्मक रूपमा बढ्दै गएको छ । यो वर्ष धादिङबाट एसईई दिएका एक जनाले पनि जिपिए ४ ल्याउन सकेनन् ।

२०७७ सालमा ६ सय ८२ जनाले ३.६ देखि ४.० जिपिए (ए प्लस) ल्याएका थिए । अहिले त्यो संख्या घटेर ७४ मा आएको छ । त्यस्तै २०७७ मा १२ सय ६ जनाले ३.२ देखि ३.५ जिपिए ल्याएका थिए अहिले यो संख्या पनि घटेर ३ सय ३५ मा आएको छ ।

२०७५ सालको एसइई परीक्षाको नतिजा र २०७८ सालको परीक्षाको नतिजा तुलनात्मक रूपमा अध्ययन गर्दा समग्रमा विद्यार्थीको सिकाइ स्तर खस्केको छ ।

कोरोना कहरका कारण २०७६ र २०७७ सालमा विद्यालयहरूले आन्तरिक रूपमै मूल्यांकन गरी उपलब्ध गराएको नतिजालाई बोर्डले प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेले अहिलेको नतिजा तुलना गर्न नहुने नीलकण्ठ माविका प्रधानाध्यापक धु्रव अधिकारीले बताए ।

२०७५ सालको नतिजासँग तुलना गर्ने हो भने चाही सन्तोषजनक रहेको शिक्षकहरुको दावी छ । अधिकारी भन्छन्–‘२०७५ सालको एसइईको तुलनामा यसपटकको नतिजा सन्तोषजनक छ । विद्यार्थीको पठनपाठन पूरा नभए पनि पहिलेकै जस्तो प्रश्नपत्रमा यत्तिको नतिजा आउनुलाई सन्तोषजनक नै मान्नुपर्छ ।’

About The Author

Loading...

अन्य समाचारहरु: