Sat. Jul 27th, 2024

हवाई उद्धारले जोगिदै सुत्केरी र गर्भवतीको ज्यान

सरिता श्रेष्ठ
धादिङ

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ रि गाउँकी सुमिना तामाङलाई सुत्केरी व्यथाले छटपटिएपछि गाउँ नजिकैको स्वास्थ्य संस्थामा लगियो । गत बर्षको असार ११ गते ३ घण्टाको दुरीमा रहेको गणेश हिमाल हेल्थ केयरमा लगियो । हेल्थ केयरमा एक रात बसेपछि रि स्वास्थ्य चौकीमा पु¥याइयो तर त्यहाँ पनि सम्भव भएन । स्वास्थ्यकर्मीको टोलीले तामाङको गर्भ जाँच ग¥यो । तामाङ १७ वर्षकी मात्र थिइन्, जुन उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यानको जोखिम बढी हुन्छ ।

भौगोलिक विकटता, सडक सञ्जाल लगायतका समस्याका कारण तत्कालै उपचारका लागि सदरमुकाम पु¥याउन सम्भव थिएन । घर नखुलेको र निरन्तर पेट दुख्न थालेपछि उपचारका लागि अन्यन्त्र लैजान स्वास्थ्यकर्मीले सुझाव दिए । गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले तुरुन्तै हेलिकप्टर बोलायो । असार १४ गते हेलिकप्टर मार्फत प्रसुतिगृह थापाथली पु¥याइयो । उनले त्यहि दिन छोरी जन्माइन् ।

गंगाजमुना गाउँपालिका वडा नं २ लताबकी २३ वर्षीय सुन्तली तामाङको व्यथा पनि सुमिनाको भन्दा कम्ती छैन । पेट अधिक दुख्न थालेपछि घरपरिवारले रि स्वास्थ्य चौकी पु¥याएको थियो । तर उच्च रक्तश्राव हुन थालेपछि काठमाडौँ रेफर गरियो । वर्खाले बिगारेको सडकमा तत्काल एम्बुलेन्स आउन सम्भव थिएन । हेलिकप्टर बोलाउ आर्थिक अवस्था कमजोर थियो । के गर्ने कसो गर्ने भन्ने अन्यौल हुदै गर्दा गाउँपालिकाले हेलिकप्टर बोलाइदियो र गत वर्षकै बैशाख २९ गते काठमाडौँ लगियो ।

गाउँपालिकाको भौगोलिक विकटता, आर्थिक अवस्था कमजोर र ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार सुमिना र सुन्तलीले हवाई सेवा पाइन । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । विकट बस्तीमा सडकको सुविधा राम्रो नभएकै कारण हेलिकप्टर प्रयोग गरेर महंगो शुल्क तिर्न बाध्य छन् । गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र सुरक्षित प्रसुति गराउन कठिनाई भएका लाई निःशुल्क हेलिकप्टर उपलब्ध गराएकाले सेवा पाइन ।

समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका आमा र बच्चाहरुले अकालमै ज्यान गुमाउनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा ज्यान समेत गुमेको घटना छ । नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै गंगाजमुना गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क रुपमा हवाई तथा एम्बुलेन्स सेवा सुरु गरेको थियो ।

धुसेनीकी २७ वर्षीय सिमा तामाङलाई पनि सुत्केरी व्यथा लागेपछि गत २०७७ माघ १७ गते री स्वास्थ्य चौकीमा उपचारका लागि लगियो । तर स्वास्थ्य अवस्था गम्भीर र तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले उपचार सम्भव भएन । तामाङलाई गाउँपालिकाको सिफारिसमा निशुल्क रुपमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो । अपरेसन गरियो तर बच्चालाई बचाउन सकिएन । वडा नं १ किचेतकी १७ वर्षीय शान्ति तामाङले २०७६ जेठ १७ गते, वडा नं २ ताबलकी इशिका तामाङले २०७८ जेठ २० गते बच्चालाई जन्म त दिइन तर संसार देखाउन सकिनन् । तत्काल शल्यक्रिया हुन नसक्दा बच्चाको मृत्यु भयो ।

यता धादिङको विकट क्षेत्र रुविभ्याली गाउँपालिकामा पनि सुरक्षित प्रसुतिका लागि हेलिकप्टरकै भर पर्नुपर्छ । रुविभ्यालीमा जोखिममा रहेका सुत्केरी तथा गर्भवती महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हवाई सुविधा छ । गत वर्षको असार ११ गते रुवीभ्याली गाउँपालिका वडा नं ५ लापाकी ४० वर्षिया माईली घलेले लापा स्वास्थ्य चौकीको पहलमा निशुल्क हेलिकप्टको सेवा लिइन् ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउन पुगेकी घलेको अवस्था नाजुक बन्दै गएपछि सुरक्षित प्रसुतिका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको स्वास्थ्य चौकीले जनाएको छ । माइली घलेसँगै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रुवीभ्याली गाउँपालिकाबाट यस वर्ष ११ जनाले निशुल्क हवाई सेवा पाएकी छन् । त्यसक्षेत्रका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गर्भवती तथा सुत्करी अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले नीति तथा कार्यक्रम र कानूनद्वारा नै सुनिश्चित गरेको छ । नेपालको संविधानमा उल्लिखित मौलिक अधिकार अन्तर्गत स्वास्थ्य सेवा पाउने हकलाई सम्बोधन गर्न सरकारले सो कार्यक्रम आरम्भ गरेको हो । सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रमबाट उत्तरी धादिङका दुर्गम क्षेत्रका महिलाहरुले सुविधा पाएका छन् ।

हवाई एम्बुलेन्सको व्यवस्था भएपछि दुर्गम ठाउँका धेरै गर्भवती र सुत्केरी महिलाको ज्यान जोगिएको छ । मुलुकी ऐनमा महिलाको उपयुक्त विवाह उमेर २० वर्ष तोकिए पनि धेरैले त्योभन्दा कम उमेरमा विवाह गर्छन् । उमेर परिपक्व नभई गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्छ । यसैगरी, उमेर पुगेकै कतिपय गर्भवती तथा सुत्केरीको पनि स्वास्थ्य समस्यालाई गम्भीर रुपले नलिइँदा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: