Sat. Jul 27th, 2024

बागमती प्रदेशका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने

हेटौडा – बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि बमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो ।
जिल्लामा पनि सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय चितवनले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँ र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका सभापति ज्ञानशाली न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । तीनवटा अस्पतालका प्रतिनिधिको रोहवरमा सम्झौता भएको हो ।

कार्यालयका प्रमुख चापागाईले असोज १ गतेबाट भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचाररत बिरामीलाई रगत निःशुल्क उपलब्ध गराइने बताए ।

कार्यविधिअनुसार एउटा बिरामीले एक वर्षमा १० युनिट रगत निःशुल्क पाउने छ । डायलासिस र रक्ततत्व आवश्यक पर्ने बिरामीका लागि थप १० युनिट निःशुल्क हुनेछ । आकस्मिक अवस्थामा रहेका घाइते र बिरामीलाई भने प्रदेश सरकारले जहाँका बिरामी भए पनि निःशुल्क उपलब्ध गराउने छ ।

बिरामीले निःशुल्क सेवा लिनका लागि आफू बागमती प्रदेशको वासिन्दा भएको खुल्ने कागजपत्र पेश गर्नुपर्ने हुन्छ । चापागाईँले भने, “यो सेवा लिनका लागि आवश्यक कागजात पेश गर्नुपर्ने भएकाले सोहीअनुसार अनुरोध गर्दछु ।” निःशुल्क रगत लिनका लागि विपन्न नागरिक भएको स्वघोषणा गर्नुपर्ने हुन्छ । यसका लागि कुनै प्रमाण माग नगरी स्वघोषणा फाराम भरे पुग्ने गरी व्यवस्था गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: