Mon. May 12th, 2025

२० हजार उम्मेदवार सिफारिस

काठमाडौँ — आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ ।

जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै जिम्मा केन्द्रको थाप्लोमा परेको छ । आकांक्षीहरूले ‘लबिइङ’ गरेर शीर्ष नेताहरूलाई थप दबाब सिर्जना गरिरहेका छन् ।

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मातहत समितिबाट केन्द्रमा बिहीबारसम्म करिब साढे २० हजार नाम सिफारिस भएको छ । सबैभन्दा बढी कांग्रेसमा साढे सात हजारको नाम सिफारिस भएको छ ।

जबकि दलहरूले प्रतिनिधिसभाको प्रत्यक्षमा १ सय ६५, समानुपातिकमा १ सय १० र प्रदेशसभाको प्रत्यक्षमा ३ सय ३० र समानुपातिकमा २ सय २० गरी अधिकतम ८ सय २५ जनालाई मात्र उम्मेदवार बनाउन सक्छन् ।

समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । राजनीतिक दलहरू समानुपातिक उम्मेदवारको सूची बनाउन गृहकार्यमा जुटिरहेका बेला देशभरबाट आकांक्षी नेता दलबलसहित राजधानीमा ओइरिएका छन् ।

‘देशभरबाट आएका नेता तथा कार्यकर्ताको काम नै प्रमुख नेताहरूको निवास परिक्रमा गर्ने र प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि दबाब दिने भएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘प्रत्यक्षको सिट बाँडफाँटमा मात्रै समस्या होला भन्ने ठानेका थियौं तर समानुपातिकमै जटिल हुने भयो ।’

About The Author

अन्य समाचारहरु: