![](https://www.pabilnews.com/wp-content/uploads/2022/04/nirbachan_aayog.jpg)
काठमाडौं : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ कारागारमा रहेको थुनुवा तथा कैदीले पनि मतदान गर्न पाउने भएको छ।
त्यसका लागि बिहीबारबाट निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन थालेको छ ।
सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो।
ऐनका अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवारकैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धा श्रममा बसेका व्यक्तिले पनि प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ।
त्यसका लागि आयोगले अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ’
प्रवक्ता पौडेलले भने, ‘यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ।’ यस्ता मतदाताले प्रदेशसभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न नपाउने उनले बताए।