Sat. Jul 27th, 2024

ग्रामीण सडकमा बोलेरोको दादागिरी: एक किलोमिटरको २५ रुपैंयासम्म भाडा !

शंकर श्रेष्ठ, धादिङ– ग्रामीण भेगका वस्तीहरुमा जाने प्राय सबै सडक कच्ची छ । वर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दशैंमा यात्रुहरुको चाप बढेको बेला ग्रामीण सडकमा चल्ने साना सवारीहरु मनोमानी भाडा असुलेको पाइएको छ ।

उकालो–ओरालो र घुम्तीहरुमा यात्रुबाहक बस जानै सक्दैन । त्यसैको मौका छोपेर नीजि नम्बर प्लेटका बोलेरो जीपहरुले मनोमानी भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन् । चालकसहित ६ जनाको सीट क्षमता भएका सवारीले १५ जना भन्दा बढि यात्रु बोक्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै नीजि सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन ।

यात्रुको लोड त छदैछ, खाद्यान्न, लत्ता कपडा लगायतका सामानको लोड पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रुहरु पनि बाध्य छन् । सदरमुकामबाट बोलेरो जिप चढेर गन्तव्यतर्फ जादै गर्नुभएका यात्रु शिव मगर भन्छन्–‘बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नै पर्छ भन्दै जिपले मनलाग्दी भाडा उठाउँछ, अरु गाडी चल्दैन । त्यसैले बाध्य भएर चर्काे भाडा तिरेरै हिड्न बाध्य छौं ।’

एक किलोमिटरको भाडा २५ रुपैँयासम्म तिर्न यात्रुहरु बाध्य छन् । प्रतिवाद गरे चालकहरुले गाडी चढ्नै नदिने र पैदल नै हिड्नुपर्ने यात्रुहरुको बाध्यता छ । सदरमुकाम धादिङबेसीबाट छ किलोमिटरको दुरीमा रहेको स्याउली गएको भाडा एक सय ५० रुपैया तिर्नु परेको मगरले सुनाए ।

सदरमुकाम धादिङबेसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ करिब १५ किलोमिटरको दुरीमा छ । धादिङबेसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दुरी जम्माजम्मी २७ किलोमिटर छ । यी सडकमा गुड्ने बोलेरो र मुस्ताङ जिपहरुले १५ देखि ३० किलोमिटरसम्मको भाडा पाँच सयदेखि सात सय असुल्दै आएका छन् । त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीबाट नेत्रावती–५ जाँदै गरेका तुलबहादुर तामाङले भने–‘अघिल्लो वर्षहरुमा दुई सय भाडा थियो, अहिले पाँच सय लिन्छ ।’

यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैंया ५० पैसा भाडादर तोकोको छ । तर, सदरमुकामबाट जिल्लाको खरी, मैदी, धुवाकोट, खाल्टेलगायतका बस्तीहरुमा पुग्ने सवारीले यसरी मनोमानी भाडा असुलिरहेका छन् ।

पछाडी र छतमा समेत टनक्कै सामान कोचेर सवारीहरुले जोखिमपूर्ण त छदैछ चर्काे भाडादर तिर्नु यात्रुहरुको बाध्यता हो । ‘कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैन । साना गाडीले नचडे हिड्नुको विकल्प छैन’, मैदीबाट सदरमुकाम आउनुभएका यात्रु कृष्ण अधिकारीले भने– ‘बाटो राम्रो नभएकोले बस हिड्दैन । बाध्यताले बोलेरो चढेर हिँड्नुपर्छ ।’

यस्ता बोलेरोसँग रुट परमिट हुँदैन । क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छ । टनक्कै सामानमाथी छतमा र पछाडीको भागमा समेत मान्छे झुण्डाएर यात्रा गराइरहेका छन् । सदरमुकामबाट ग्रामीण वस्तीहरुमा जाने बोलेरो जीपहरुले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरिह छन् । दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकहरुले ख्यालै गरेका हुँदैनन् । चालकहरुले भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महंगो लिनुपरेको बताउँछन् । ‘एक पटक गाउँ गएर फर्किदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो’, चालक दिपक श्रेष्ठले भने ।

एउडा जिपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ । त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ । जोखिमपूर्ण तरिकाले यात्रु ओसार पसार गरेर चर्काे भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी संघहरु पनि अनविज्ञ नै छन् । नीजि सवारीले चर्काे भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखेपनि कसैले बोल्न सकेका छैनन् । महंगो भाडा असुलेर गुडिरहेका नीजि सवारीलाई प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने संयुक्त यातायात बस तथा जिप व्यवसायी संघ, धादिङका अध्यक्ष राम थापाले बताए ।

हुन त संयुक्त यातायात बस तथा जिप व्यवसायी संघ मार्फत उत्तरी धादिङ चल्ने जिपले पनि नीजि बोलेरोहरुले जत्तिकै भाडा उठाइरहेका छन् । छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेको प्रति स्थानीय प्रशासन पनि मौन छ । स्थानीय सरकारले पनि विग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस संचालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिदैन । दशै सुरु भएदेखि झनै यस्ता साना सवारीहरुको मनोमानी बढेको छ । वर्खाको बेला बाटो खराव छ भन्दै महंगो भाडा उठाउदै आएका सवारीहरुले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुहरुले गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: