Sat. Jul 27th, 2024

खुब रमाइलो हुन्थ्यो त्यो बेलाको दशैं

राधिका सापकोटा
बच्चा बेलाको दशैं खुब संझना आउछ । एउटा कुनै फिल्मको दृश्य संझनामा आए जस्तो । सानोमा दशैं आउँदा खुबै रमाईलो लाग्थ्यो । हाम्रो रमाईलोसंगै सायद बुबाआमाको पीडा पनि संगै शुरु हुँदो हो । ४÷५ जना बच्चाहरुलाई दशैं मनाउनु सायद सहज कुरा थिएन होला । हाम्रा लागि दशैं आउनु भनेको नयाँ लुगा लगाउनु, पेटभरी मासु खानु र आनन्दले घुम्दै पिङ खेल्नु थियो । दशैं शुरु हुनु भन्दा अलि अगाडी नै बुबाले हाम्रा लागि नयाँ लुगा किनेर ल्याइदिनु हुन्थ्यो तर सधै लुगा भने स्कुल ड्रेस नै हुन्थ्यो । तै पनि हामी खुब खुसी हुन्थ्यौं ।

लुगा किनेर ल्याइदिने एउटा चटारो हुन्थ्यो भने त्यो समयमा सिलाएर आईपुग्छ की पुग्दैन भन्ने अर्को पिर हुन्थ्यो । हाम्रो आँखा रामेदाई (कपडा सिलाउने दमाई दाई) आउने बाटो तिर हुन्थ्यो । कहिले रामेदाई त कहिले ठुलीआमा (रामेदाईको आमालाई हामी ठुलीआमा भन्थ्यौं) आउनु हुन्थ्यो हाम्रो नापो र कपडा लिन । रामेदाई आएर हाम्रो नापो लिन्थे । सायद मलाई जिस्क्याउन उनलाई खुब मज्जा लाग्यो, उनी सबैको कपडा टिकासम्म सिलाईदिन्छु कान्छीको चाँही भ्याउँदिन भन्थे, बाल मस्तिस्क उनको मज्जाक बुझ्दैनथ्यो म रुन थालीहल्थे । अनि फेरी उनै रामेदाई फकाउँथे मेरी कान्छीको लुगा सबै भन्दा पहिला सिलाईदिन्छु अनि फ्रकमा इस्त्री (आइरन) पनि लगाईदिन्छु भन्थे फेरी म मख्ख परेर खुसीले उफ्रीहाल्थे ।

रामेदाईले लुगा लिएर गएदेखि रामेदाई लुगा लिएर आउने बाटो कुर्नु दैनिकी जस्तै हुन्थ्यो । एक वर्ष खै किनहो बुबाले हामीलाई घाँगर सुरुवाल लेराईदिनु भको थियो । अहिलेको उलनको जस्तो कपडा थियो तर त्यत्ति वेला खद्दरको लुगा भन्ने चलन थियो के हो राम्ररी थाहा भएन । मलाई हरियो कलरको र निरु दिदिलाई रातो कलरको घाँगर सुरुवाल थियो । म खुब रमाएर घाँगर सुरुवाल लगाएर गाउँमा देखाउन हिडिरहेको थिए, पल्लो घरको मञ्जु दिदिले निरुको घाँगर सुरुवाल कति राम्रो राधिकाको चाँही नराम्रो कस्तो नसुवाको भनिदिनु भयो । मेरा सबै खुसि पानी पानी भए । म बेस्सरी रोए । त्यो लुगा च्यातेर फालिदिउ जस्तो लाग्यो ।

आमाले मञ्जु दिदिलाई जिस्काएको भनेर गाली गर्नुभयो । पछि फेरी मञ्जु दिदिले नै फकाएर मेरै लुगा अरुको भन्दा राम्रो भएको प्रमाणित गर्दै खुसी बनाउनु भयो । दशैको अर्को रमाइलो खसी काट्ने थियो । हाम्रे परिवार ठुलो भएकोले सिंगै खसी काट्ने चलन थियो । घरमा पुरुष बुबा एक जना मात्रै भएकोले होला सबैको खसी काटेपछि हाम्रो घरको पालो अलि ढिलै आउँथ्यो । खसी खुइल्याउने बनाउने काममा म पनि सहयोग गर्थे बुबालाई ।

एक वर्ष दिदिहरुको नी विवाह भएर जानुभयो अब सिंगै खसी चाहिदैन २ खुट्टा मासु ल्याउने भनेर बुबाले घर सल्लाहा गर्नु भयो । म धेरै सानो त थिइन । तर दशंैमा २ खुट्टा मासु कति खाने होला ? फेरी त्यो खुट्टामा मासु नै के हुन्छ र ? त्यस्तो खुट्टाको हड्डी दशैंमा कसरी खाने ? खुब तनाव भयो । अनि बुबालाई दशैंमा नी के खुट्टाको मासु खाने त ? जाबो खुट्टाको त्यो हड्डीमा के मासु हुन्छ र खाने भने मैले । बुबाले मेरो बुद्धि देखेर गाली गर्नु भयो । मैले त्यो दिनसम्म २ खुट्टा भनेको ४ भागको २ भाग अर्थात आधी मासु रहेछ भन्ने बुझे । पछि आफैंलाई लाज लाग्यो ।

दशैमा फुलपातीदेखि हाम्रो दैनिकी भनेको बिहान खाना खाएर गोजीमा एक गोजी चिउँरा र चिनी हालेर पिङ खेल्न जाने थियो । ५÷७ जनाको गु्रप बनाएर पिंङ हालेको जति सबै ठाउँमा पुग्थेउ हामी । प्राय छरुवा, सिमलभज्याङ, पाटीका चौर पिङ हाल्ने ठाउँहरु हुन् । हामी एक ठाउँमा पिङ खेलेर वस्दैनथ्यौं । एक ठाउँमा एकछिन खेल्ने अनि अर्को ठाउँमा जाने । दिनभर डुलेर बेलुका मात्रै घर आउँथ्यौं । टिका लगाउने, मामा घर जाने, पैसा कति जम्मा भयो भनेर गन्न खुब रमाइला थिए ति दशैंका दिनहरु ।

उमेरसंगै बढेका जिम्मेवारी, हिजो आमा बुबासंग आफ्ना माग राख्ने दिन र आज आफुले अरुका माग पुरा गर्नुपर्ने दिनको दशैमा खुब अन्तर हुँदो रहेछ । स्कुलकै ड्रेसमा, २ खुट्टा मासु र एक बगली चिउँरामै भएनि ती दिनका दशैं जस्तो रमाईलो दशै खै किन आजभोली हुदैन । अहिले लाउन मन लागेको लाउन समस्या छैन, सिंगै खसी काट्न पीर छैन, चिउँरा अड्कलेर खानु पर्दैन, नयाँ लुगा लगाउन रामेदाईको बाटो हेर्नु पर्दैन र पनि दशैं त्यो बेलाको जस्तो खुसी लिएर आउँदै आउँदैन । सायद समय बदलियो , परिस्थिती बदलियो, खुसीको परिभाषा बदलियो ।

About The Author

Loading...

अन्य समाचारहरु: