Sat. Jul 27th, 2024

लामो दूरीमा बिजुली गाडी

काठमाडौं — साझा यातायातले असारयता मात्रै उपत्यकामा तीनवटा विद्युतीय बस सञ्चालनमा ल्यायो । थप ३७ विद्युतीय बस केही महिनाभित्रै सञ्चालनमा आउने साझाको तयारी छ । उपत्यकामा सुन्दर यातायातले वपन ९ वटा बस सञ्चालन गर्छ ।

लामो रुटमा पनि विद्युतीय सवारीको संख्या बढिरहेको छ । पाँच महिनायता सुन्दर यातायातकै २ वटा विद्युतीय बस काठमाडौं–जनकपुर रुटमा चलिरहेका छन् । काठमाडौंदेखि बर्दिबास, मरिण खोला, सिन्धुली, जनकपुरलगायत अरू लामा रुटमा समेत विद्युतीय सवारी सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै सय किलोवाटसम्मका ६ सय ८६ कार, जिप, भ्यानलगायत विद्युतीय सवारी आयात भएको छ । यस्तै, सय किलोवाटभन्दा माथिका १९ कार, जिप, भ्यान भित्रिएका छन् भने २ हजार ३ सय ९३ तीनपांग्रे विद्युतीय सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष सय किलोवाटसम्मका ९ सय ९६ वटा, सय किलोवाट माथिका ८ सय ११ र तीनपांग्रे ६ हजार ४ सय ५ वटा आयात भएका थिए । यस्तै, २०७७र७८ मा सय किलोवाटसम्मका १ सय ४५, सय किलोवाटमाथिका १०४ र तीनपांग्रे सवारी एक हजार ९ सय ४३ वटा भित्रिएका विभागको तथ्यांक छ ।

विद्युतीय सवारीका लागि लक्षित गरी २०७८ जेठबाट राजमार्ग जोड्ने मुख्य–मुख्य सहरमा ५१ वटा चार्जिङ स्टेसन निर्माणको काम जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार्जर राख्ने, ट्रान्सफर्मर, विद्युत्को लाइन तान्न ३७ करोड लागत छुट्याइएको छ । एक वर्षयता निजी क्षेत्रबाट पनि २६ वटा चार्जिङ स्टेसन निर्माण भइसकेका छन् । तिनमा पनि ट्रान्सफर्मरलगायत संरचना निर्माणमा प्राधिकरणले सघाएको छ ।

डिजेलको तुलनामा विद्युतीय सवारी चलाउन सजिलो हुने काठमाडौंदेखि बर्दिबास रुटका माइक्रोबस चालक गोपाल पौडेलको अनुभव छ । ‘डिजेल गाडीमा गियर हानिरहनुपर्थ्यो, यसमा पर्दैन,’ उनले भने, ‘विद्युतीय सवारी चलाउन निकै सजिलो छ, न आवाज आउँछ न त धूवाँ नै फ्याँक्छ ।

२५ वर्षदेखि सवारी चलाउँदै आएका पौडेलले विद्युतीय बस चलाउन थालेको तीन महिना मात्र भयो । बर्दिबासमा फुल चार्ज गरेर निस्केका उनी नेपाल थोकमा आएर पुनः चार्ज गर्छन् । त्यसपछि काठमाडौंमा यात्रु झारेर पुनः नेपाल थोक पुगेर चार्ज गर्छन् । सिन्धुली र खुर्कोटमा सरकारी चार्जिङ स्टेसन छन् भने बर्दिबासमा निजी चार्जिङ स्टेसन छ । सरकारी चार्जिङ स्टेसनमा प्रतियुनिट १० रुपैयाँ र निजीमा १५ रुपैयाँ शुल्क रहेको उनले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: