Fri. Jul 4th, 2025

धानमा चामलको दाना नलागेपछि किसान चिन्तित

धादिङ – यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्राउने र अर्काे बालीको लागि माटो तयार गर्न किसानलाई भ्याईनभ्याई नै छ । तर, धान काट्ने बेला धादिङको नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् ।

धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् । झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिएपनि बालामा चामल नफलेको किसानहरुले बताएका छन् । नीलकण्ठ नगरपालिका वडा नं. ७ को हाडीखोला आसपासका करिब ६५ रोपनी पाखा खेतमा लगाएको धान विग्रिएको स्थानीय किसान विष्णुलाल श्रेष्ठले बताए ।

नीलकण्ठ नगरपालिका कृषि शाखाबाट अनुदानमा लिएको सावित्रि र सुख्खा–२ जातको धानमा चामलको खाना नलागेको हो । अहिले धान झुल्ने बेला आधा भन्दा धेरै बालामा चामल नफलेपछि किसानलाई खाद्यान्न संकट पर्ने चिन्ताले सताउन थालेको छ । ‘फुल खेल्ने बेलासम्म बोट राम्रै थियो । यस्पाली धान राम्रो हुनेमा ढुक्क थियौं,’ श्रेष्ठ भन्छन्–‘तर, अब वर्षभरी खान पनि नपाइएलाकी भन्ने डर भयो ।’

रोगले हो वा भौगोलिक कारण धान विग्रिको बारे किसान अनविज्ञ छन् । ६ महिनादुःख गरेर लगाएको धानमा चामलको साटो भुस फल्दा परिवार धान्न समेत गाह्रो पर्ने चिन्ता किसानलाई छ ।
कृषि प्राविधिकहरुले भने प्राविधिक कमजोरी कै कारण धानमा रोग लागेको बताएका छन् ।

धान पाक्ने बेला मात्रै रोग देखिएकोले उपचार समेत सम्भव नभएको प्राविधिकहरुको भनाई छ । यो रोगबाट बाली बचाउन सुरुदेखि नै माटोको उपचार गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका कृषि शाखा अधिकृत समुन्द्र श्रेष्ठले बताए ।

यस्ता समस्या किसानहरुको निम्ति कुनै नौलो विषय हैन । दुख गरेर उब्जनी गर्न लागेको बालीमा विभिन्न प्रकारको रोग लाग्दा कृषकहरुले कयौं बाली नष्ट गर्दै आएको कुरा यथावत् छ ।

About The Author

अन्य समाचारहरु: