Sat. Jul 27th, 2024

तामझाम र बाजागाजा सहित माइत झरिन् त्रिपुरासुन्दरी भगवती माई

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने माइस्थान जात्राको नामले परिचित त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा सकिएको छ । आइतबार विहान भगवती माईलाई सल्यानकोटबाट माइथान मन्दिरमा झारेसँगै यो पटकको जात्रा समापन भएको हो ।
खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरोबाटो हुँदै भगवतीलाई बेसीको मन्दिर ल्याइने परम्परा छ । जसलाई स्थानीयको भाषामा माइत ल्याइएको भनिन्छ ।

देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो नै देखेका छन् । एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।

रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई आफ्नो पिठ्युमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने चलन रहेको मन्दिरका मूल पूजारी हरिचन्द्र तिमिल्सीनाले बताए ।

त्रिपुरासुन्दरी भगवतीको उत्पतीको विभिन्न खालेको किंबदन्ती पनि भेटिन्छ । श्रीस्वस्थानीमा उल्लेख भए अनुसार यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा शतीदेवीको कण्ड्यौलो पतन भएको उल्लेख छ । नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जा“दा यही मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट, चितवन, काठमाडौँ लगायतका मानिसहरु पनि आउने गर्दछन् । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरेर दुइ ओटा मन्दिर रहेको छ । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका– ४ सल्यानकोट डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ । यसरी देबीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।

About The Author

Loading...

अन्य समाचारहरु: