
काठमाडौं– मिस नेपाल २०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ ।
यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन् ।
यस वर्ष विभिन्न कार्यक्रममार्फत सहभागीको संख्या बढाउने हिडन ट्रेजरको योजना छ। पत्रकार सम्मेलनमा मिस नेपालको आधिकारिक मोबाइल एपसमेत सार्वजनिक गरिएको छ। सोही एपमार्फत इच्छुकले आवेदन दिन सक्नेछन् भने दर्शकले फिनालेको टिकट खरिद गर्न सक्नेछन्।
सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत छ । काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।