
धादिङबेसीमा सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र अतिथिहरु । तस्बिरः सन्तोषराज श्रेष्ठ
धादिङ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङबेसीमा सुरु भएको छ ।
महाधिवेशनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् । कार्यक्रमस्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि गरेर अतिथिहरुलाई सम्मान गरिएको छ ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले देशको सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण रहेको बताए । विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारहरुलाई आग्रह गर्दै उनले बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफ्नै गृहजिल्लामा देशभरका कलाकारहरुको उपस्थितिले धादिङको गौरव बढाएको जम्कट्टेलले बताए । ‘कलाकारहरुको उपस्थितिले धादिङलाई सास्कृतिक पक्षबाट पनि चिनाएको छ, त्यसको निम्ती आभार व्यक्त गर्दछु’, मुख्यमन्त्री जम्कट्टेलले भने । देश विकासमा संगीतको योगदान अतुलनीय रहेको समेत धारणा राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङले लोक तथा दोहोरी क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै थुप्रै चुनौतिहरु आइरहेकोले कलाकाहरुले त्यस्ता चुनौतिसँग सजग भएर अघि बढ्न जरुरी रहेको बताए । कार्यक्रममा धादिङ जिल्लाबाट निर्वाचित सांसदहरु, पार्टी प्रतिनिधिहरु, स्थानीय सरकारका प्रमुखहरुले पनि कला सस्कृतिको संरक्षणमा आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रिता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् । ४२ हजारबढी सदस्य भएपनि हजार बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । महाधिवेशन फागुन १४ गते समापन चल्नेछ ।

