
धादिङ– देशभरका लोक दोहोरी कलाकारहरु यतिबेला धादिङबेसीमा छन् । नाच्ने, गाउने, बजाउने कलाकारहरुको बाक्लो उपस्थितिले बिहिबार साँझदेखि नै सदरमुकाम धादिङबेसी कलाकारमय छ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आठौंं केन्द्रिय महाधिवेशन स्थलको रौनक अझ फरक छ । देशभरबाट भेला भएका कलाकारहरुले कार्यक्रम स्थल वरपर बनाएको रोधीको रौनक निकै रमाइलो छ ।
परम्परागत भेषभूषामा सजिएका युवायुवतीदेखि उमेरले बैंस ढलेकाहरू पनि आफ्नो संस्कृतिको झलक देखाइरहेका छन् । वरपरबाट लोकसंगीत तथा दोहोरीका पारखीहरू हेर्न पुगेका छन् । उम्मेदवार बनेकाहरु मनोनयन र प्रचारमा खटिइरहँदा प्रतिनिधि कलाकारहरुले कार्यक्रमस्थल बाहिर समूह समूह बनाएर नाचगान गरिरहेका छन् ।
उद्घाटनको औपचारिक कार्यक्रम समापन भएदेखि नै देशका विभिन्न जिल्लाहरुबाट जम्मा भएका कलाकारहरुले आ–आफ्नो भुगोल विशेषका भाका र लयमा दोहोरीका टुक्का हानिरहेका छन् ।