१५ साउन, धादिङ – तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? साथीभाई बटुलेर ? वा रमाइलो गरेर ? तर एक विद्यार्थीले आफ्नो जन्मदिन शैक्षिक सामग्री दिएर मनाएका छन् । सदरमुकाम धादिङबेसीको चिल्ड्रेनपार्क आवासीय उच्च माध्यमिक विद्यालयमा अध्यायनरत छात्रा सदिक्षा अधिकारीले गरिब विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री उपहार दिएर आफ्नो जन्मदिन मनाएकी छिन् ।
कक्षा ६ मा अध्यायनरत सदिक्षा अधिकारीले ११ वर्ष पुरा भइ १२ वर्ष लागेको अवसरमा नलाङ गाँउ विकास समितिमा रहेको नागेश्वरी प्राथमिक विद्यालयमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई कापी र कलम उपहार दिएकी हुन् । विहिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा नै पुगेर वितरण गरेकी हुन् ।
विद्यालयको बालविकासमा अध्ययन गर्ने रेणु शाही, कक्षा एकमा अध्ययन गर्ने विशाल वि.क. र सिलत गिरी, कक्षा २ मा अध्ययन गर्ने उमेश अर्याल , कक्षा ३ मा अध्ययन गर्ने समिर परियार र कक्षा ५ मा अध्ययन गर्ने सन्तोषी अर्याललाई कापी र कलम उपहार दिएकी हुन् ।
किताब कापीको अभावमा उनीहरुले पढ्ने अबसरबाट बञ्चित हुन नपरोस भनेर ति विद्यार्थीहरुलाई कापी र कलम उपहार दिएकी हुन् । सदिक्षा अधिकारीले वर्षभरि खाजा र अन्य कामका लागि जम्मा भएको रकम बचाएर जन्मदिनको अबसरमा उपहार दिएको बताएकी छिन् । उनी ११ वर्ष पुरा भइ १२ वर्ष लागेकी छिन् ।