
धादिङ– जातीय विभेद कागजमा मात्रै सिमित भएको दलित अधिकारकर्मीहरुले गुनासो गरेका छन् । कानूनमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसकेको गुनासो गरेका हुन् ।
५८औं अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा धादिङबेशीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले समुदाय स्तरमा जातिय विभेदको अवस्था अझै पनि विकराल रहेको सुनाए ।
धादिङमा जातिय छुुवाछुत तथा विभेदका घट्नाहरु न्यायिक निकायसम्म आउन नसकेको गोपाल विश्वकर्माले बताए ।
न्यायिक निकायसम्म आइपुगेपनि मेलमिलापको माध्यामबाट दबाएर राख्ने गरेको उनले प्रस्ट पारे ।
राजनीतिक दलले दलित समुदायका व्यक्तिलाई चुनावको टिकट दिँदा उपल्लो जातिका नागरिकहरुले भोट दिँदैनन् भनेर टिकट नदिने गरेको समेत विश्वकर्माले सुनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले जातिय विभेद अन्त्य गर्नको दलित समुदायका नागरिकहरु मात्रै नभई सबै एकजुट भएर लाग्न जरुरी रहेको बताए ।
जातिय विभेदको अन्त्यको लागि तल्लो स्तरबाट नै सशक्तिकरणको कार्यक्रम गर्न जरुरी रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।