
धादिङ – आजबाट विक्रम संवत् २०८० साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा शुक्रबार देशभर सार्वजनिक बिदा दिइएको छ। यस्तै, विदेशमा कूटनीतिक नियोगहरुमा पनि बिदा दिइएको छ।
शुक्रबारबाट सूर्य मेष राशिमा प्रवेश गर्छ। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् साश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हरेक व्यक्तिले वैशाख १ गते गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्। शुक्रबार बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।